काठमाडौं । नागरिकता विवादमा जिल्ला अदालत धनुषाको अनुमतिले थुनामा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौं ल्याउने तयारी गरिएको छ ।
जनकपुरको काब्या अस्पतालमा रहेका उनलाई स्वास्थ्यमा समस्या आएपछि एयर लिफ्ट गरेर काठमाडौं ल्याउने तयारी गरिएको उनका कानुनी सल्लाहकार किशोर पौडेलले बताए । ‘जनकपुरको अस्पतालबाट एयर लिफ्ट गरेर काठमाडौं ल्याउने प्रक्रिया सुरु गरिएको छ,’ उनले भने । पछिल्लो पटक जिल्ला अदालतले उनलाई सोमबार तीन दिन थुनामा राख्ने अनुमति दिएको थियो ।
उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि सुरुमा जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएका उनलाई थप उपचारका लागि काब्या अस्पताल लगिएको थियो । उक्त अस्पतालमा पनि स्वास्थ्यमा सुधार नआएपछि काठमाडौं ल्याउन लागिएको हो ।
परिवारका अनुसार सिरोहियालाई पहिलेदेखि नै डायबिटिज, उच्च रक्तचापलगायत स्वास्थ्य समस्या थिए । जिल्ला अदालतले उनलाई तीन पटक तीन/तीन दिन म्याद थप गरेको थियो ।
सिरोहियालाई काठमाडौं ल्याउनका लागि आवश्यक पत्र तयारी भइरहेको र केही समयमा काठमाडौँ ल्याइने परिवारले जनाएको छ । उनलाई काठमाडौँको कुनै अस्पतालमा राखिने परिवारको दाबी छ ।