जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया एम्बुलेन्समा चढेर जिल्ला अदालत धनुषा पुगेका छन् । दोस्रो पटक म्याद थपिएपछि मुटुमा समस्या आएको भन्दै प्रहरी हिरासतबाट निस्किएर जनकपुरस्थित काभ्या अस्पतालमा बसेका उनी सोमबार अपरान्ह अदालतमा उपस्थित भएका हुन् ।
दोस्रो पटक तीन दिनका लागि शुक्रबार थपिएको म्याद आइतबार सकिएको छ । यस्तोमा प्रहरीले सिरोहियालाई तेस्रो पटक म्याद थपका लागि एम्बुलेन्समा हालेर अदालतमा उपस्थित गराएको हो । उनलाई अब तेस्रो पटक म्याद थपका लागि धनुषा अदालतको इजलास नम्बर ७ मा पेश गरिँदै छ । उक्त इजलासमा न्यायाधीश यदुराज शर्मा रहेका छन् ।
नागरिकता कसुरमा गत मंगलबार पक्राउ परेका सिरोहियालाई सुरुमा शुक्रबासम्म पहिलो पटक, त्यसपछि आइतबारसम्म दोस्रो पटकसहित ६ दिन म्याद थपिएको छ । यस पटक पनि त्यति नै समय म्याद थप हुने सम्भावना रहेको छ ।