काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल संघीयता विरोधी भएको अरोप लगाएका छन्।
स्थानीय तहलाई दिने सशर्त अनुदान वितरण तथा विभिन्न मन्त्रालयबाट हुने रकमान्तरको सम्बन्धमा नेकपा एमाले, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ध्यानाकर्षण गराएसँगै उनले सञ्चारकर्मीहरुमाझ यस्तो आरोप लगाएका हुन्।
एमालेसहितका राजनीतिक दलहरुले वर्तमान सरकार अल्पतमतमा रहेकोले दीर्घकालीन असर पर्ने खालका निर्णयहरु नगर्न/नगराउन ध्यानाकर्षण पत्र पेश गरेका थिए।
ध्यानाकर्षण पत्र बुझिसकेपछि मुख्यमन्त्री यादवले अहिले संघीयताको घोर विरोधी प्रधानमन्त्री दाहाल भएको आरोप लगाए। उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिला नै संघीयता नचाहेको स्पष्ट पारेको उल्लेख गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सरकारमा ल्याउने नेतृत्व संघीयताको पक्षधर हुनै नसक्ने जिकिर गरे।
उनले भने,’पहिला हामी केपी ओलीलाई संघीयता विरोधी भन्थ्यौँ। उहाँ त भन्दै हुनुहुन्थ्यो कि मैले संघीयता चाहेको होइन, जबरजस्ती लादिएको हो। तर, प्रचण्डलाई मैले अहिले कसरी हेरेँ भने प्रचण्ड संघीयता चाहने व्यक्ति पहिला तर अहिले संघीयताको घोर विरोधी प्रचण्ड हो। प्रचण्डले संघीयता चाहेकै छैनन्। यो संघीयता चाहेको भए केपी ओली र रवि लामिछानेलाई ल्याएर सरकार बनाउनु हुँदैन थियो। रवि लामिछाने त प्रदेशमा अहिले पनि चुनाव लडेनन्।’