काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति आवश्यक रहेको जनाएका छन् । आइतबार प्रतिनिधि सभामा सुरुमै सभामुख देवराज घिमिरेसँग समय लिएर उनले यस्तो जनाएका हुन् ।
प्रतिपक्षमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रश्न उठ्नेहरुमाथि छानबिन हुनुपर्ने जनाएको तर, सरकारमा गएपछि त्यसका लागि तयार नभएको उनको टिप्पणी छ ।
नेपाली कांग्रेसले संसदमा रास्वपाका सभापति एवं उपप्रधान तथा गृहमन्त्री लामिछाने सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लगाउँदै आएको छ । लामिछानेकै नाम लेखेर संसदीय छानबिन समिति गठनको माग राख्दै आएको छ । प्रश्न उठेपछि छानबिनका लागि तयार हुनुपर्ने भन्दै राप्रपाका प्रमुख सचेतक शाहीले प्रतिपक्षमा हुँदा र सत्तापक्षमा हुँदा एउटै बोली र व्यवहार प्रदर्शन गर्न आगह गरे ।
विगतमा प्रतिपक्षमा हुँदा आफुभन्दा अगाडि बसेर लामिछानेले तत्कालीन अवस्थामा तत्कालीन सरकारका गृहमन्त्रीलाई ‘मुटु छ कि छैन, डराएको हो रु’ भनी सोधेको स्मरण गर्दै शाहीले सोही प्रश्न वर्तमानमा आफ्नो रहेको जनाए ।
‘गृहमन्त्रीको भनाइ फिर्ता पठाउँदै भन्न चाहन्छु(मुटु छ कि छैन रु डराएको हो रु खुट्टा कमाएको हो रु’ शाहीले उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई प्रश्न गरे ।
राप्रपाका सांसद शाहीले आफ्नो पार्टीका सांसद गीता बस्नेतविरुद्ध सहकारीको विषयमा पक्राउ पुर्जी जारी भएको पनि स्मरण गरे । सांसद बस्नेतमाथि उठेजस्तै प्रश्न उपप्रधान तथा गृहमन्त्री लामिछानेको सम्बन्धमा पनि उठेको उनले जनाए। एउटै सदनमा रहेका एक सांसदलाई एक व्यवहार र अर्को सांसदका लागि अर्को व्यवहार भएको भन्दै उनले कानुन सबैका लागि बराबर हुनुपर्ने जनाए।