काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभामा बोल्न पाउनुपर्ने जनाएको छ ।
मंगलबार सभामुख देवराज घिमिरेले बोलाएको छलफलमा सहभागी रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले यस्तो जनाएका हुन् ।
सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा परियारले भनेका छन्, ‘गृहमन्त्रीलाई गएको बैठकमा सभामुखले बोल्न समय दिनुभएको थियो । तर, बोल्न पाउनुभएको छैन ।
आजको बैठकमा त्यसको निरन्तरतास्वरुप बोल्न दिनुपर्छ । गृहमन्त्रीले बोल्न पाउनुपर्छ ।’ छलफलमा नेपाली कांग्रेसकी सचेतक शुशिला थिङ, नेकपा एमालेका प्रमुख सचेतक हितराज पाण्डे, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी उपस्थित थिए ।
आज राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेस गर्नेछन् । साँझ ६ बजे प्रतिनिधि सभाको बैठक बस्ने तय भएको छ । उक्त बैठकमा राष्ट्रपतिलाई धन्यवाद दिने लगायतका कार्यसूची छ । साँझ बस्ने प्रतिनिधि सभाको बैठकमा गृहमन्त्रीलाई बोल्न दिनुपर्ने माग रास्वपाले राखेको हो ।