काठमाडाैं । सत्तारूढ नेकपा (एकीकृत समाजवादी) ले वर्तमान सत्ता गठबन्धन फेरबदल हुन सक्ने जनाएको छ।
पार्टीको सोमबार बसेको पोलिटव्यूरो बैठकमा राजनीतिक प्रतिवदेन प्रस्तुत गर्दै अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनको भविष्य बदलिन पनि सक्ने उल्लेख गरेका छन्।
उनले यो समीकरण वर्तमान संसदको संरचनाअनुसार निर्माण र सञ्चालनका लागि बनाइएको र यो दीर्घकालीन नभएको जनाएका छन्। ‘यो समीकरण वर्तमान संसदको संरचना अनुसार सरकार निर्माण र सञ्चालनका निम्ति बनाइएको हो।
यो दीर्घकालीन होइन तात्कालिक राजनीतिक सहकार्य मात्र हो,’ अध्यक्ष नेपालको प्रतिवेदनमा उल्लेख छ, ‘त्यसैले तात्कालिक राजनीतिक परिस्थिति बदलियो भने यस्तो तात्कालिक राजनीतिक समीकरण वा सहकार्य पनि बदलिन सक्छ।’ उनले वर्तमान नेपाली समाजमा आमूल परिवर्तन गरेर समाजवाद निर्माण गर्न एउटा बलियो कम्युनिष्ट शक्तिको आश्यकता रहेको बताएका छन्। माओवादी केन्द्र, जसपा लगायत दलहरूको व्यहारका कारण कम्युनिष्ट एकताको सम्भावना नदेखिएको अध्यक्ष नेपालको भनाइ छ।
‘हामीले सुरुदेखि नै क्रान्तिकारी कम्युनिष्टहरू, खासगरी समाजवादी कार्यदिशा अँगालेका कम्युनिष्ट घटकहरूबीच एकता हुनुपर्ने कुरामा जोड दिँदै आएका छौँ। केही साना घटकलाई पार्टीमा एकताबद्ध गरेका पनि छौँ।
साथै नेकपा (माओवादी केन्द्र) र जसपा लगायतका पार्टीसँग एकता वार्ता पनि चलाएका थियौँ,’ प्रतिवेदनमा उल्लेख छ, ‘यस दौरान व्यवहारबाट के स्पष्ट भयो भने अहिले तत्काल कम्युनिष्ट पार्टीहरूबीचको एकता वा वाम एकता सम्भव छैन। पार्टी एकता हुन पार्टीको नाम, मार्गदर्शक सिद्धान्त, संगठनात्मक सिद्धान्त, कार्यक्रम र कार्यदिशाजस्ता मूलभूत विषयमा एकरूपता हुनु पर्दछ।’