दाङ । लुम्बिनी प्रदेश सभाका दुई जना प्रदेश सभा सदस्य नवगठित जनता समाजवादी पार्टीमा खुलेका छन्।
प्रदेशसभा सदस्यहरू आदेशकुमार अग्रवाल र भण्डारीलाल अहिरले लुम्बिनी प्रदेश निर्वाचन कार्यालय घोराहीमा गएर अशोक राई नेतृत्वको जसपाको पक्षमा सनाखत गरेका हुन्।
अहिर वर्तमान लुम्बिनी प्रदेश सरकारमा कृषि तथा भूमि व्यवस्था मन्त्रीको जिम्मेवारीमा छन्। सरकार गठन हुँदा भएको लिखित सहमति कार्यान्वयन नभएको भन्दै उनले मन्त्री पदबाट राजीनामा गरेका थिए। तर, उनको राजीनामा स्वीकृत भएको थिएन।
जसपामा आएको विभाजनपछि अहिरले मन्त्री पदको जिम्मेवारी सम्हाल्दै जता बहुमत हुन्छ उतै जाने प्रतिक्रिया दिएका थिए। दुवै जना बाँके क्षेत्र नं. २ को ‘क’ र ‘ख’बाट प्रदेशसभा सदस्य पदमा प्रत्यक्ष निर्वाचित सांसद हुन्।
लुम्बिनी प्रदेशमा जसपा नेपालका तीन जना सांसद थिए। समानुपातिक सांसद अम्बिका काफ्ले भने जसपाको संस्थापन पक्षमा रहेको जनाइएको छ।
‘दुई जना प्रदेश सभा सदस्य यस कार्यालयमा आउनु भयो र दल सनाखत गरेर जानु भयो,’ प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी मिनु कुँवरले भनिन्,‘दल सनाखत गरेको बारेमा ऐन, नियमअनुसार प्रक्रिया अघि बढ्छ।’


