काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले देशमा ठूलो सुरक्षा चुनौती नरहेको जनाएका छन्। मंगलबार राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै प्रधानसेनापति शर्माले देशमा ठूलो सुरक्षा चुनौती नरहेको जनाएका हुन्।
संवेदनशील भूराजनीतिक अवस्था, खुला सिमाना, जलवायु परिवर्तन, श्रम आप्रवास, साइबर थ्रेट, एआई प्रविधिबाट सिर्जित सुरक्षाका केही चुनौतीहरु देखापरे पनि समाधान नै गर्न नसक्ने प्रकारका कुनै पनि चुनौती नरहेको उनले स्पष्ट पारे।
उनले कहिलेकाहीँ धार्मिक, साँस्कृतिक तथा जातीय पहिचानको आधारमा केही घटनाहरु हुने गरे पनि ती समस्याहरुलाई स्थानीय स्तरमै राजनीतिक दलहरुले मिलाउने गरेका जनाए।
उनले देशको राजनीति तरल अवस्थामा रहने हुँदा नेपाली सेना यसप्रति सधैँ चनाखो भएर बस्ने गरेको जनाए। उनले मंगोल नेशनल अर्गनाइजेस र पहिचानवादीहरु बेलाबेलामा आन्दोलित हुने गरे पनि राष्ट्रिय समस्याको रुपमा नरहेको स्पष्ट पारे।
त्यस्तै, दुर्गा प्रसाईं नेतृत्वको समूहले पनि बेलाबेलामा गतिविधि गरेको भन्दै ती गतिविधिले सुरक्षालाई कुनै असर नपुर्याएको उनको भनाइ छ।
प्रधानसेनापति शर्माले अफगानिस्तान र पाकिस्तानमा जारी अस्थिर राजनीतिक वातावरणले नेपालको क्षेत्रमा पनि केही न केही असर पारिरहेको जनाए। उनले भारत र चीनबीच दक्षिण एशियाली क्षेत्रमा बढिरहेको प्रभाव विस्तारको प्रतिस्पर्धा र भारतमा बढिरहेको धार्मिक र साँस्कृतिक राष्ट्रवादको भावना आदिले गर्दा क्षेत्रीय शक्ति सन्तुलन र स्थिरतामा प्रभाव पारिरहेको जनाए। त्यसको असर नेपालजस्तो देशलाई पनि पर्ने उनले जनाए।
म्यान्मारको आन्तरिक द्वन्द्वका कारण नेपालमा रोहिङ्ग्या शरणार्थी आएर बसेका कारण तिनले सामाजिक, आर्थिक र धार्मिक समस्याहरु निम्त्याउन सक्ने सम्भावना रहेको उनको भनाइ छ।
प्रधानसेनापति शर्माले राष्ट्रिय सुरक्षाका लागि छिमेकी देशहरु भारत र चीनलाई कहिल्यै पनि चिढ्याउनु नहुने जनाए । यद्यपि, उनीहरुले नचाहिँदो कुरा गरेमा त्यसको विरोध गर्नुपर्ने उनको भनाइ छ। नेपालमा युरोपियन युनियन र अमेरिकाको पनि चासो रहेको भन्दै उनले सबैलाई सन्तुलन मिलाएर लानुपर्ने उल्लेख गरे। देशको हितको लागि सबैसँग वार्ता गरेर अगाडि बढ्नुपर्नेमा उनको जोड छ।