काठमाडाैं । सरकारले विद्युतीय चुरोट (भेप) प्रतिबन्ध गर्ने प्रक्रिया थालेको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले प्रतिबन्ध लगाउने प्रक्रियामा सहयोग गर्न विभिन्न मन्त्रालयलाई आग्रह गरेको छ।
केन्द्रका निर्देशक केशवराज पण्डितले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भन्सार विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई विद्युतीय चुरोटको उपभोग गर्न नपाउने व्यवस्था कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेका हुन्।
सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को दफा २८ को उपदफा ४ मा ‘कसैले पनि इलेक्ट्रोनिक सिगरेटको उत्पादन, आयात, बिक्री वितरण, सार्वजनिकस्थल र सार्वजनिक यातायातमा उपभोग र सञ्चारमाध्यमबाट प्रवर्द्धन तथा विज्ञापन गर्न पाइने छैन’ भन्ने व्यवस्था रहेकाले सोही कार्यान्वयन गर्नका लागि पत्राचार गरिएको उनले जनाए ।
केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा. भक्तबहादुर केसीले अर्थ र सञ्चार मन्त्रालयले निर्देशिकामा भएको कुरालाई कार्यान्वयन गर्नसाथ विद्युतीय चुरोटको नेपालबाट प्रतिबन्ध हुने जनाए । उनले कतिपयले चुरोटको सेवन छाड्नका लागि विद्युतीय चुरोटको सेवन गर्ने गरे पनि चुरोट जतिकै विद्युतीय चुरोटले पनि स्वास्थ्यमा हानी गर्ने जनाए।
उनले विद्युतीय चुरोट सुर्ती सेवनको ‘गेट-वे’ (प्रवेशद्वार) का रूपमा रहेको समेत बताए। “विद्युतीय चुरोटको सेवनले चुरोट खान सिकाउँछ। यसले निकोटिनको लत बसाउने काम गर्दछ,” उनले भने, “त्यसैले विद्युतीय चुरोट सुर्तीजन्य पदार्थ सेवनको गेट-वेका रूपमा रहेको छ।”
विद्युतीय चुरोटले मानिसको मुटु र फोक्सोमा सीधै असर गर्नुको साथै मुख जल्ने जस्ता पनि समस्या गराउनुको साथै सेवन गरिरहेको मानिससँगै बसिरहेको अर्को मानिसलाई पनि यसले हानी गर्ने उनको भनाइ छ। नेपालमा विद्युतीय चुरोट ब्लाकवेरी, ब्लुवेरी, मेलन, पाइनापल, ग्वाभा, म्यांगो जस्ता विभिन्न ‘फ्लेवर’ (स्वाद) मा आउने गरेको छ। भन्सार विभागको तथ्याङ्कमा गत आर्थिक वर्षमा वार्षिक ३२ लाख २३ हजार ६८७ थान विद्युतीय चुरोटका डिभाइस नेपाल आएको पनि उनले जनाए ।
तीमध्ये ३१ लाख ७५ हजार ८१५ थान विद्युतीय चुरोट चीनबाट, दुई लाख ६५ हजार ६४० थान अमेरिकाबाट, १२ हजार ९६७ थान संयुक्त अरब इमिरेट्सबाट आउने गरेका छन्। भारत, वेलायत लगायत देशबाट पनि विद्युतीय चुरोट आउने गरेको छ। केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा. केसीका अनुसार नेपालमा वार्षिक रु ३२ अर्ब बराबरको विद्युतीय चुरोटको व्यापार हुने गरेको छ। उनले नेपालमा विगत पाँच वर्षमा दुई सय गुणाले आयात बढेको जनाए ।