काठमाडौं । एकीकृत समाजवादी (नेकपा एस)ले पार्टीको संसदीय दलका सन्दर्भमा चलाइएका हल्लाको पछि नलाग्न सबैमा अनुरोध गरेको छ।
सोमबार बसेको पार्टीको संसदीय दलको बैठकले विज्ञप्ति नै जारी गरेर पार्टीको संसदीय दल एकताबद्ध रहेको सन्देश दिएको छ। आइतबार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी(जसपा) विभाजित भएपछि माधव नेपाल नेतृत्वको नेकपा एसपनि फुटको संघारमा पुगेको र सत्तारुढ दुई दल नेकपा एमाले र माओवादी केन्द्रको अवको निसानामा नेकपा एस रहेको भनेर राजनीतिक बृत्तमा चर्चा भइरहेका बेला नेकपा एसले पार्टी र संसदीय दल एकताबद्ध रहेको प्रष्टिकरण दिएको छ।
विज्ञप्तिमा भनिएको छ,‘बैठकले यस बिचमा संसदीय दलका सम्बन्धमा चलाइएका चर्चा एवं हल्लाहरु गलत रहेको र त्यस्ता भ्रमहरुमा नपर्न सबैलाई अनुरोध गर्दै पार्टी संसदीय दल एकताबद्ध रहेको प्रतिवद्धता व्यक्त गरेको छ।’ प्रतिनिधि सभा र राष्ट्रिय सभाका सम्पूर्ण सदस्यहरुको सहभागिता बसको बैठकमा समसामयिक राष्ट्रिय राजनीति, संघीय संसदको आगामी अधिवेशनमा खेल्नु पर्ने भूमिका लगायतका विषयहरुमा छलफल भएको नेकपा एसले जनाएको छ।
बैठकले सरकारले ल्याउने नीति, कार्यक्रम र बजेट बारे दलको तर्फबाट सरकारलाई रचनात्मक सुझावहरु दिने, संसदको आगामी अधिवेशनमा जनसरोकारका विषयहरु सशक्त रुपमा उठाउने र कानून निर्माण प्रक्रियामा सक्रिय भूमिका निभाउने पनि निर्णय गरेको छ।