काठमाडौं । नेपाल र वेस्टइन्डिजबिच जारी पाँच खेलको टी–२० सिरिज अन्तर्गतको तेस्रो टी–२० मा नेपालले ७६ रनको फराकिलो हार भोगेको छ। वेस्टइन्डिज ‘ए’ ले दिएको २ सय २८ रनको उच्च लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा १ सय ५१ रनमा अलआउट भयो।
हारसँगै सिरिजमा वेस्टइन्डिज ए ले २–१ को अग्रता बनायो। नेपालका लागि करण केसी र लोकेश बमको समान २८ रन सर्वाधिक रनका रुपमा रह्यो।
नेपालका लागि थप दोहोरो स्कोरका रुपमा ओपनर विनोद भण्डारी १९ रन बनाउँदा अनील साह १४ रन बनाएर पेभिलियन फर्किएका थिए। त्यस्तै कुशल मल्ल २० रन बनाएका थिए।
नेपालको इनिङलाई धरासायि बनाउने क्रममा वेस्टइन्डिजका हाइदेन वाल्सले ३ विकेट लिए। त्यस्तै गुडाकेश मोटाइ र २ विकेट लिंदा म्याथ्यु फोर्ड, ओबेड म्याकोइ र फावियन एलिएनले समान १–१ विकेट लिए।
त्यसअघि वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिले ब्याटिङ गर्दै २ सय २७ रनको उच्च स्कोर बनाएको थियो। वेस्टइन्डिजले जोनसन चार्लेसको अविजित शतकीय इनिङ खेले।
चार्लेसले ६१ बलमा १३ चौका र ७ छक्का प्रहार गरे। त्यस्तै आन्द्रे फ्लेचरले ५३ रनको अर्धशतकीय इनिङ खेल्दा फावियन एलनले १९ रन बनाए।
त्यस्तै केमो पउलले १३ रन जोड्दा एलिक अथान्जेले १७ रन बनाए। नेपालका कुनैपनि बलर किफायती रहन सकेनन्। करण केसी र सागर ढकालले समान १–१ विकेट लिएका थिए।


