एजेन्सी । ताइवानमा भूकम्पमा परि अहिलेसम्म चार जनाको ज्यान गएको पुष्टि भएको छ । पूर्वी तटीय क्षेत्रमा आज ७ दशमलव ४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो ।
भूकम्पका कारण भत्किएका भौतिक संरचना हटाएर मानिस निकाल्ने काम भइरहेको छ । ताइवानका राष्ट्रपति साइ इङ वेनले भूकम्पपछि सेनाले तत्काल उद्धारकाे काम थालेको बताउनुभयो । आपत्कालीन अवस्थामा ताइवानलाई आवश्यक सहयोगका लागि चीनले समेत पहल गरेको बीबीसीले जनाएको छ । यसैबीच भूकम्पसँगै ताइवान र उसका छिमेकी देशहरूमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ ।
ताइवानका अधिकारीहरूले यो २५ वर्षयताकै त्यहाँ गएको सबैभन्दा शक्तिशाली भूकम्प भएको बताएका छन् । ताइवानमा गएको भूकम्पपछि जापानले ओकिनावा प्रान्तमा सुनामीको चेतावनी जारी गरेको बीबीसीले जनाएको छ । यस्तै फिलिपिन्समा पनि सुनामीको चेतावनी दिइएको छ ।