मोरङ / त्रिभुवन आर्मी क्लब विराटनगरमा जारी कोशी प्रदेश ट्रफी नेशनल टी–२० च्याम्पियन्सीपको अन्तिम चारमा प्रवेश गरिरहँदा गण्डकी प्रदेश समूह चरणबाटै घर फर्किएको छ।
मंगलबार बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला रंगशालामा भएको पहिलो खेलमा घरेलु टोली कोशी प्रदेशलाई ५ विकेटले पराजित गर्दै आर्मीले सेमिफाइनलको यात्रा सुनिश्चित गरेको हो।
टस हारेर ब्याटिङको निम्तो पाएको कोशीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३५ रनको योगफल तयार पारेको थियो। कोशीका लागि दिपेश कँडेलले ३६ बलमा अविजित ४० रन बनाए। भुपाल दंगाल ७ रनमा आउट भए। कप्तान अंकित सुवेदी शून्य, मिनस थापा ८, सुजन थपलिया १४ रनमा समेटिँदा श्रवण यादवले अविजित २९ रन बनाए।
आर्मीका तिर्थराज दास र पवन कार्कीले समान २ विकेट लिए। सेमिफाइनलमा प्रवेश गरेको आर्मीको टोलीले १८ दशमलव ४ ओभरमा ५ विकेटको क्षतिमा निर्धारित लक्ष्य पूरा गरेको थियो। आर्मीका लागि तिर्थराज दासले ३५, सन्तोष कार्कीले २४ रन बनाए।
त्यसैगरि, अर्को खेलमा गण्डकी प्रदेश बागमती प्रदेशसँग ४ विकेटले पराजित हुँदै घर फर्किएको छ। टस जितेर ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५० रनको योगफल बनाएको थियो। गण्डकीका लागि दिनेश बुढामगरले ४७ बलमा १ छक्का र ९ चौका प्रहार गरि ६२ रन बनाए। बागमतीका लागि इशान पाण्डेले २ विकेट लिए।
गण्डकीले दिएको निर्धारित लक्ष्य बागमतीले १९ दशमलव २ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको थियो। बागमतीका लागि रामनरेश यादवले अविजित ५० रन बनाए। उनले २७ बलमा ३ छक्का र ४ चौका प्रहार गरेका थिए। यादव प्लेयर अफ द म्याच भए। गण्डकीका सुवास भण्डारीले ३ विकेट लिए।कोशी प्रदेश टी–२० च्याम्पियनसिपः आर्मी सेमिफाइनलमा


