काठमााडौं । आगामी वैशाख १५ मा हुने उपचुनावमा प्रतिनिधिसभामा मात्रै भाग लिने निर्णय गरेको रास्वपाले चुनावमा उम्मेद्वार छान्न कार्यदल बनाएको छ।
सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले कार्यदल बनाएको हो। कार्यदलमा ६ जना सांसद रहने रास्वपाले जनाएको छ।
प्रतिनिधि सभाको निर्वाचनका लागि भने रास्वपाले पार्टी कमिटी परिचालन गरिसकेको छ।
रास्वापाले प्रतिनिधिसभाको उपनिर्वाचन हुन लागेको इलाम क्षेत्र नम्बर २ को चुनावी कमान्डरका रूपमा सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई पठाउने निर्णय गरिसकेको छ। इलाम २ बाट निर्वाचित एमालेका सुवास नेम्वाङको गत भदौ २६ गते निधन भएपछि त्यहाँ उपचुनाव गर्न लागिएको छ।
त्यहाँ एमालेबाट नेम्वाङका छोरा शुहाङले उम्मेद्वारी दिने तयारी गरेका बुझिएको छ। निर्वाचन आयोगले आगामी चैत २४ गते उम्मेदवारी दर्ता गर्ने गरी निर्वाचन तालिका सार्वजनिक गरिसकेको छ। दलहरुले उम्मेद्वारको टुंगो लगाउने तयारी थालेका छन्।


