काठमाडौँ / नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा शुद्धीकरण र सुदृढीकरण, जनआधारित कार्यकर्ता पार्टीको मर्मलाई बुझ्ने र कार्यान्वयन गर्ने चुनौती, संगठन र जनपरिचालन सम्बन्धीलगायत प्रस्तावमा नौ समूहभित्र छलफल सकिएको छ ।
यी प्रस्तावमाथि केन्द्रीय सदस्यहरुले पार्टी सुदृढीकरणका लागि नेता तथा कार्यकर्ताको जीवनशैली सुधार हुनुपर्ने, गुटबन्दी अन्त्य हुनुपर्ने, सदस्यता वितरणमा निश्चित योग्यता हेर्नुपर्ने, सरकारले कार्यशैली, महँगी, बेरोजगार, युवाहरुको विदेश पलायन लगायतमा मुद्दा बनाएर जनपरिचलान गर्नुपर्ने सुझाव दिएका छन् । एमाले प्रचार विभागका अनुसार समूहगत छलफलको सार बिहीबार बैठकमा प्रस्तुत हुनेछ ।
समाजमा बढ्दो निरासा र सामाजिक अराजकतालगायत जनसरोकारका विषयलाई एमालेले सम्बोधन गर्न पहल गर्नुपर्ने सुझाव दिएका छन् । बिहीबार नौ समूहका टोली नेताले बैठकमा समूहगत सुझावको सार प्रस्तुत गर्नेछन् ।
केन्द्रीय कमिटीमा प्रस्तुत राष्ट्रिय र पार्टीभित्रका समस्या सही ढंगले समाधान हुन नसकेको स्वीकार गरिएको थियो । प्रस्तावमा मुलुकमा देखिएका समस्या, पार्टीभित्रको चुनौतीलाई सामना गर्न विगतमा लिएका निर्णय कार्यान्वयन हुन नसकेको उल्लेख थियो । मंगलबारदेखि सुरु भएको केन्द्रीय कमिटीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेलले बैठकमा छलफलका लागि वितरण गरेका लिखित प्रस्तावमा पार्टीको निर्णय कार्यान्वयन गर्न नसक्नु, गुटउपगुट मौलाउनु, नेता तथा कार्यकर्तामा अराजकता बढ्दै जानु मुख्य समस्याको रुपमा लिइएको थियो ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी ‘शुद्धीकरण र सुदृढीकरण’ सम्बन्धी प्रस्तावमा पार्टीको काम प्रभावकारी रुपमा संचालन हुन नसकेकाले जनतामा विश्वास जाग्न नसकेको उल्लेख गरिएको छ ।