काठमाडौं / बालकुमारी घटनाबाट आलोचित बनेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई पदमुक्त गराउन दबाब बढेपछि सत्ता गठबन्धनका शीर्ष नेताहरु उनलाई फिर्ता बोलाउन सहमति नजिक पुगेका स्रोतले जनाएको छ।
पार्टीको महासमितिको बैठकका छलफलहरुलाई नै छाडेर कांग्रेस सभापति शेरबहादुर देउवा मन्त्री ज्वालामा केन्द्रित भएको उनीनिकट स्रोतहरुले बताएका छन्।
महासमिति बैठकको उद्घाटनको दिन सोमबार देउवा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मन्त्री ज्वालाले प्रतिनिधित्व गर्ने दल एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधव कुमार नेपाललाई भेट्न पुगका थिए।
पार्टीको महासमिति बैठकमा पेश गर्न तयार पारेको महामन्त्री गगन थापाको सांगठनिक प्रतिवेदनको किचलो उत्कर्षमा पुगिरहेको बेला सोमबार साँझ देउवा प्रचण्ड र माधव नेपालसँग ज्वालाको कार्यकालबारेको छलफलमा थिए।
त्यसपछि पनि तीन नेताहरुबीच पटक–पटक अनौपचारिक संवाद भएको स्रोतले जनाएको छ। स्रोतका अनुसार गठबन्धनका तीन शीर्षको छलफलमा सत्ता गठबन्धन टिकाउने, सरकार बलियो बनाउने र मन्त्री फिर्ताको विषयमा पनि कुरा भएको छ।
सोमबार उद्घाटन भएको कांग्रेस महासमिति बैठकमा मंगलबारदेखि बन्दसत्र सुरु भएको छ। बन्दसत्रमा पार्टी उपसभापति पूर्ण बहादुर खड्काले नीतिसम्बन्धी, महामन्त्री गगन थापाले सांगठनिक, विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक, अर्थमन्त्री डा प्रकाश शरण महतले अर्थसम्बन्धी प्रतिवेदन पेश गरेका छन्।
अन्य प्रतिवेदनमा खास समस्या नदेखेका देउवाले महामन्त्री थापाको प्रतिवेदनका केही प्रस्तावमा आपत्ति जनाएका थिए। अबका कुनै पनि चुनावमा कांग्रेस गठबन्धन नगरी जाने आँट गर्नुपर्ने प्रस्ताव थापाले गरेका छन्। आगामी चुनावमा यो वा त्यो बहानामा कांग्रेसका नेता कार्यकर्ताले अन्य दलको चुनाव चिन्हमा भोट हाल्न पर्ने परिस्थितिको अन्त्य गर्नुपर्ने थापाको अडानमा देउवाले आपत्ति जनाएका हुन्।
देउवाले चुनावी गठबन्धन गर्ने–नगर्ने निर्णय अहिले गर्न नहुने बताउँदै परिस्थिति अनुसार निर्णय हुने बताएका थिए। तर गगन भने २०८४ को चुनावमा कांग्रेस एक्लै जानुपर्ने कुरालाई महासमितिमा लैजाने प्रस्ताव गरेका हुन्। अन्ततः देउवाले थापालाई रोक्न सकेनन्। धेरै पटक पछि हट्न आग्रह गर्दा पनि थापाले अडान कायमै राख्दा उक्त प्रस्तावमा देउवा लचक बन्न बाध्य भए।
कांग्रेसको आन्तरिक किचलो र गगन थापाको उक्त प्रस्तावले गठबन्धनमा भने शंका पैदा गरेको छ। माघ ११ को राष्ट्रिय सभा निर्वाचनलगत्तै मन्त्री हेरफेर गर्ने मौखिक सहमति भएको भनिएपनि देउवाले पार्टीको महासमिति बैठकसम्म धकेलेका थिए।
बालकुमारी घटना अध्ययन गरेको सरकारी आयोगले मन्त्री ज्वालाकै कमजोरी औल्याइदिएपछि कांग्रेस महासमिति बैठककै मुखमा मन्त्री ज्वालालाई फिर्ता बोलाउने आवाज चर्को बन्न थालेको छ।
अहिले देउवालाई महासमिति बैठक र सरकार फेरबदलको दबाब एकैपटक झेल्नुपरेको छ। कोरियन भाषा परीक्षा सम्बन्धी आन्दोलनमा मन्त्री ज्वालाको गाडी प्रवेश गरेपछि प्रहरीको बल प्रहारबाट दुई युवाको ज्यान गएपछि मन्त्री ज्वाला विवादित बनेका हुन्।
मन्त्री ज्वाला मात्रै नभई सरकारमा प्रभावकारी भूमिका नखेलेका अन्यलाई पनि हटाउन प्रधानमन्त्री प्रचण्डले ताकेता गरिरहेका छन्।