काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको राष्ट्रिय स्वाधिनता अझ बढी खुम्चिने वा दुर्घटनामा पर्ने खतरा कायम रहेको दाबी गरेका छन्।
सोमबार समाजवादी शैक्षिक मञ्च, नेपालको उद्घाटनमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्। उनले अहिलेको राजनीतिक परिस्थिति वा शान्ति प्रक्रियामा प्रवेश गरेयताका सन्दर्भहरु, राजनीतिक, वैचारिक वर्ग संघर्षहरु सबैलाई एकै ठाउँमा राखेर हेर्दा देश समाजवादी गणतन्त्रतिर अघि बढ्ने हो कि फेरि त्यही निरंकुशतातिर, फेरि दलालहरुको सम्पूर्ण हैकम कायम भएको नेपालको राष्ट्रिय स्वाधिनतामा अझ बढी खुम्चिने वा दुर्घटनामा पर्ने खतरा भएको गणतन्त्रतिर जाने हो? भन्ने लडाइँ कायम रहेको जनाए।
ठूलो र पेचिलो बहस र संघर्षपछि संविधानमा अबको राज्य समाजवादउन्मुख राज्य हुन्छ भन्नेसम्म लेख्न सफल भएको उनको भनाइ थियो।
उनले सुशासन, सामाजिक न्याय र समृद्धि हुँदै समाजवादतिरको यात्रामा अघि बढिरहेको दाबी गरे। प्रधानमन्त्री प्रचण्डले अहिले पनि एउटा पक्ष समाजवादको वातावरण बनाउन लडिरहेको र अर्को पक्ष संघीयता, गणतन्त्र ठीक छैन, समावेशी, समानुपातिकता ठीक छैन, शिक्षा सुधार ठीक छैन पुरानै ठाउँमा फर्किनुपर्छ भनेर लागेको दाबी गरे।