काठमाडौं / देशभर आठ लाख ५० हजारभन्दा बढी सक्रिय सदस्य नेपाली कांग्रेस पार्टीको महासमितिको बैठक साेमबारदेखि ललितपुरको गोदावरीमा सुरु हुँदैछ। विसं २०७८ मङ्सिर २४ गते काठमाडौंमा सम्पन्न भएको १४ औं राष्ट्रिय महाधिवेशनको दुई वर्ष तीन महिनापछि ‘नीति अधिवेशन’का रूपमा लिएको महासमिति बैठकमा भाग लिनका लागि देशभरबाट महासमिति सदस्य संघीय संघीय राजधानी आइपुगेका छन्।
प्रतिनिधिसभामा अन्य दलको भन्दा बढी सांसद र मन्त्री रहेको, आधाभन्दा बढी प्रदेशमा सरकार प्रमुख भएको र लगभग आधा स्थानीय सरकारमा प्रभुत्व जमाएको कांग्रेसको महासमिति बैठकलाई बढो चासोका साथ हेरिएको छ।
ललितपुरको गोदावरीस्थित सन्राईज हलमा आज दिउँसो १ बजे पार्टीका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ। राजनीतिक स्थायित्व, रुपान्तरण र नवीनता! स्वतन्त्रता, न्याय र समानता !! नेपाली कांग्रेसको नीतिगत प्रतिवद्धता भन्ने मूल नाराका साथ सुरु हुन लागेको महासमिति बैठकमा देशभरबाट दुई हजारभन्दा बढी महासमिति सदस्यको सहभागिता हुँदैछ।
महासमिति बैठकमा वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्य एक सय १६५, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने महासमिति सदस्य एक हजार सात सय ८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ जनाको सहभागिता हुँदैछ।
यस्तै, केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका रूपमा सहभागी गराउन लागिएको छ ।
बैठकमा भाग लिन झापाबाट शुक्रबार काठमाडौं आएका महासमिति सदस्य अनिलकृष्ण प्रसाईं समयअनुसार पार्टीलाई अगाडि बढाउन स्पष्ट नीति र कार्यक्रम आवश्यक रहेको बताउँछन्।
‘विपी कोइरालाले प्रतिपादन गरेको समाजवादको सिद्धान्त संकटमा पर्दै गएको छ, यो महासमिति बैठकले वैचारिक सङ्कटप्रति चिन्तन गर्नुपर्छ, ‘ उनी भन्छन्। कांग्रेस आफ्नो एजेण्डामा प्रष्ट हुनुपर्ने उनको भनाइ थियो।
मोरङका महासमिति सदस्य एवं पूर्वसांसद भुटनीदेवी खवास महासमिति बैठकमा कांग्रेसले पार्टी र देशका लागि हित पुग्ने निर्णय गर्नुपर्ने बताउँछन्।
ललितपुरको गोदावरीमा चार दिनसम्म चल्ने महासमितिलाई व्यवस्थित एवं प्रभावकारी ढंगले सञ्चालन गर्नका लागि पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा रहेको मूल आयोजक समितिले छुट्टाछुट्टै उपसमिति निर्माण गरी काम अगाडि बढाएको छ।
स्वदेश तथा विदेशमा रहेका नेपालीले मात्रै होइन मित्रराष्ट्रले समेत चासोका साथ हेर्ने कांग्रेसको महासमितिको बैठक भव्य, सभ्य, व्यवस्थित र परिणाममुखी बनाउन कांग्रेसले विभिन्न उपसमितिमार्फत तयारी पूरा गरिसकेको छ।
कांग्रेसले महासमिति बैठकमा पेश हुने विभिन्न दस्तावेज केन्द्रीय कार्यसमिति बैठकबाट पारित गरिसकेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा गत फागुन ३ र ४ गते बसेको केन्द्रीय समितिले उपसभापति पूर्णबहादुर खड्काद्वारा प्रस्तुत नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत समसामयिक राजनीतिक प्रस्ताव र प्रवक्ता डा प्रकाशशरण महतद्वारा प्रस्तुत आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेद्वारा प्रस्तुत लेखा परीक्षण प्रतिवेदन पारित गरेको थियो।
कांग्रेसले आजदेखि सुरु हुने महासमिति बैठकमा जाने प्रतिनिधिको सहजताका लागि दैनिक २० वटा बस निःशुल्क सञ्चालन गर्न लागेको छ। पार्टीबाट गठन गरिएको यातायात व्यवस्थापन उपसमितिले काठमाडौंबाट महासमिति बैठक हुने स्थान गोदावरी जानका लागि चार दिनसम्म निःशुल्क बस व्यवस्थापन गर्न लागेको उपसमितिका सदस्य सुवन गिरि बताउँछन्।
कांग्रेसले कार्यक्रम आवधिभर बिहानको चिया नास्ता, खाना र दिउँसोको खाजा कार्यक्रस्थलमै उपलब्ध गराउन लागेको छ। बेलुकाको खाना र आवास सहभागी आफैंले व्यवस्था गर्नुपर्ने कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागका संयोजक मीनबहादुर विश्वकर्मा बताउँछन्।