काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूलाई राजसंस्था र हिन्दूराष्ट्रको पक्षधर भन्नेहरुले समयको महत्त्वलाई अझै बुझ्न नसकेको जनाएका छन्।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा शनिबार राजनीतिक कार्यपत्र प्रस्तुत गर्दै उनले गत सत्रवर्षको अवधिमा राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापना गर्ने अहिले सर्वाधिक अनुकूल अवस्था बनेको विश्लेषण गरेका छन्। ‘संघीय धर्मनिरपेक्ष गणतन्त्रका संवाहकहरुप्रति तीव्र वितृष्णा देखिएको तथा जनताले विकल्प खोजिरहेको विद्यमान परिस्थितिमा समेत राजावादी र हिन्दूवादीहरु एकठाउँमा उभिन नसक्नु उदेक लाग्दो छ’, उनले भनेका छन्।
बृहत् राष्ट्रिय मोर्चा निर्माणका सम्बन्धमा आफूहरूको प्रयासले ठोस आकार लिन नसकेकोमा पनि थापाले अन्य पार्टी र समूहलाई दोष देखाएका छन्। ‘राजसंस्था र हिन्दूराष्ट्र पक्षधर शक्तिहरुमध्यको सबैभन्दा ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत अन्य समूहहरु आफ्नै ढंगबाट सानातिना सभाहरु गरेर औपचारिकता निर्वाह गर्नेतर्फ उद्यत रहेको पाइयो।
राजसंस्था र हिन्दुराष्ट्रको एजेण्डालाई सत्तामा पुग्ने भरेङ तथा निहित स्वार्थ परिपूर्तिको माध्यम बनाउने प्रवृत्तिबाट राष्ट्रवादी शक्तिहरु मुक्त हुनसकेका छैनन्। आआफ्नो सानो समुह बनाई यदाकदा दुई चार सयको जुलुस निकालेर रमाउने प्रवृत्ति पनि कायम नै रहेको छ। यो मानसिकताबाट मुक्त नभएसम्म राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापना हुन सक्दैन’, उनले भनेका छन्।