काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद हेरफेरको तयारी गरेका छन् । गत पुस १० गतेको सम्वोधनमा मन्त्रिपरिषद हेरफेरको घोषणा गरेका प्रधानमन्त्री दाहालले यसै साता केही मन्त्रीहरु फेर्ने तयारी गरेका हुन् ।
प्रधानमन्त्री दाहाल निकट स्रोतका अनुसार प्रधानमन्त्रीका साथमा अर्थमन्त्रालय नहुँदा काम गर्न असहज भएको र सरकारको काम प्रभावकारी हुन नसकेको प्रचण्डको निष्कर्ष छ । यही कारण, प्रधानमन्त्री दाहालले कांग्रेससँग रहेको अर्थमन्त्रालय माओवादीले सम्हाल्न पाउनुपर्ने कांग्रेस सभापति देउवासँग माग गरेका छन् ।
गठबन्धनका पार्टनर देउवाले यसमा सहमति जनाएमा अर्थमन्त्री डा। प्रकाशशरण महत फिर्ता हुनेछन् र उनका ठाउँमा माओवादीबाट वर्षमान पुनलाई ल्याइने प्रधानमन्त्री निकट स्रोतले जनाएकाे छ । उता गृहमन्त्रालय माओवादीका हातमा हुँदा बालकृष्ण खाण लगायतका नेताहरुलाई पक्राउ पर्नबाट जोगाउन नसकेको कांग्रेस नेताहरुको निष्कर्ष छ । त्यसैले कांग्रेसका नेताहरु गृहमन्त्रालय आफ्नो पार्टीले लिनुपर्ने जनाउँछन् ।
यो अवस्थामा अब हुने मन्त्रिपरिषद फेरबदलमा प्रधानमन्त्री दाहालले गृहमन्त्रालय कांग्रेसलाई दिएर अर्थ मन्त्रालय आफ्नो दलमा राख्न चाहेको स्रोतले जनाएकाे छ ।
प्रधानमन्त्रीले माघ १५ भित्रै अर्थ र गृहमन्त्रालय साटासाट गर्न भने पनि देउवाले महासमितिको बैठक पछि मात्रै मन्त्री हेरफेर गर्न प्रधानमन्त्रीलाई जवाफ दिएका छन् । देउवा निकट स्रोतका अनुसार, ‘महासमिति बैठक अगाडि नै मन्त्री फेर्दा मलाई पार्टीभित्र गाह्रो हुन्छ, त्यसैले महासमिति बैठकपछि मात्रै हेरफेर गरौं भन्ने जवाफ सभापतिज्यूले प्रधानमन्त्रीलाई दिनुभएको छ ।’ त्यसैगरी नेपाली कांग्रेसको महासमिति बैठक फागुन ७ गते बोलाएको छ ।
नेपाली कांग्रेसले अर्थ मन्त्रालय छाडेर गृहमन्त्रालय लिने अवस्थामा कसलाई गृहमन्त्री बनाउने भन्ने प्रश्न निरुत्तरित छ । यो विषयले कांग्रेसभित्रको गुटगत राजनीतिलाई थप बढावा दिने जोखिम पनि छ । यही भएर सभापति देउवाले महासमिति बैठक अगावै मन्त्रिपरिषद हेरफेर नगर्न भनेको कांग्रेसका एक नेताले जनाए।
कांग्रेसबाट गृहमन्त्रीका दाबेदार महामन्त्री गगन थापासमेत भएता पनि सभापतिले संस्थापन पक्षकै नेतालाई पठाउने सो समुहको दाबी छ । प्रधानमन्त्री दाहालले भने गगनलाई ल्याउन चाहेको स्रोत जनाउँछन् ।
स्रोतले भन्यो, ‘प्रधानमन्त्री दाहालले गगन थापा, वर्षमान पुन, राजेन्द्र पाण्डे र राजकिशोर यादवलाई बोलाएर आफूलाई साथ दिन आग्रह गरेको अवस्था छ, त्यसैले उनी यही टिमलाई सरकारमा समेट्न चाहन्छन् । तर, कांग्रेसभित्रको शक्ति सन्तुलनका आधारमा देउवाले जसलाई पठायो, उसैले गृहमन्त्री पाउने स्थिति छ ।
राष्ट्रियसभामा अन्याय भएको भन्दै माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले मन्त्रालयमा थप दाबी गरेको हुनाले मन्त्रिपरिषद हेरफेर गर्दा एकीकृत समाजवादीलाई पनि चित्त बुझाउनुपर्ने स्थिति छ । सिके राउतको जनमत पार्टीले भने सामान्य प्रशासन मन्त्रालय छाडेर सरकारबाट बाहिरिने चेतावनी दिइरहेको छ ।
पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेसँग पनि समदुरी कायम गर्ने प्रयास गरेका छन् । नेपाली कांग्रेसबाट पेलाइ बढी भयो भने एमालेसँग मिल्ने र सकभर पाँचै वर्ष सरकारमा रहने रणनीति अनुसार दाहालले एमालेलाई नचिढ्याउने नीति लिएका हुन् ।
यसका लागि एकीकृत समाजवादी पार्टी सरकारबाट बाहिर गइहाल्यो भने रवि लामिछानेको पार्टीलाई सरकारमा ल्याएर सुरक्षित हुने रणनीतिमा पनि प्रचण्ड रहेको स्रोतको दाबी छ ।


