एजेन्सी । पाकिस्तानी क्रिकेट टोलीका पूर्व कप्तान शोएब मलिकले तेस्रो विवाह गरेका छन्। ४१ वर्षीय शोएबले ३० वर्षीया पाकिस्तानी अभिनेत्री सना जावेदसँग विवाह गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। शोएबले यसअघि भारतीय टेनिस स्टार सानिया मिर्जासँग विवाह गरेका थिए।
शोएबको पहिलो विवाह आयशा सिद्दीकीसँग भएको थियो। उनीसँग सम्बन्धविच्छेद गरेपछि उनले २०१० मा पूर्वभारतीय टेनिस खेलाडी मिर्जासँग विवाह गरे। सानिया र शोएबको सम्बन्धविच्छेदको बारेमा अहिलेसम्म आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।
सानिया मिर्जाले लेखेकी थिइन् ‘डिभोर्स गाह्रो छ’
सानिया मिर्जाले बुधबार सामाजिक सञ्जालमा ‘डिभोर्स’ गाह्रो रहेको उल्लेख गरेकी थिइन्। आफ्नो इन्स्टाग्राम अकाउन्टमा स्टोरी पोस्ट गर्दै उनले ‘विवाह गाह्रो छ, सम्बन्ध विच्छेद गाह्रो छ, आफ्नो कठिनाइ आफै छान्नुहोस्। जीवन सजिलो छैन, यो सधैं गाह्रो हुनेछ तर हामी गाह्रो छनोट गर्न सक्छौँ। सावधानीपूर्वक छान्नुहोस्।’ उनले लेखेकी थिइन्।
अभिनेत्री जावेदले इन्स्टाग्राममा गरिन् थर परिवर्तन
पाकिस्तानी नायिका सना जावेदले आफ्नो बायोमा आफ्ना पति शोएब मलिकको नाम पनि थपेकी छन्। यसअघि उनको अकाउन्टमा ‘सना जावेद’ लेखिएको थियो तर अब उनले आफ्नो अकाउन्टमा ‘सना शोएब मलिक’ लेखेकी छन्।
इन्स्टाग्राममा उनको अन्तिम पोष्ट पनि मलिकसँगको विवाहको बारेमा थियो। जसको क्याप्सन छ, ‘अल्हमदुलिल्लाह, र उहाँले हामीलाई जोडी बनाउनुभयो।’
५ महिनाको डेटिङपछि मलिकले गरेका थिए सानियासँग विवाह
सानिया–शोएबको पहिलो भेट सन् २००४–२००५ मा भारतमा भएको थियो। यद्यपि उक्त समयमा सामान्य चिनजान मात्र भएको थियो। त्यसपछि यी दुईबीच सन् २००९–२०१० मा अस्ट्रेलियाको होबार्टमा दोस्रो भेट भएको थियो।

सानिया टेनिस खेल्न आएकी थिइन् भने शोएब आफ्नो टोलीसँग क्रिकेट खेल्न आएका थिए। त्यतिबेला पाकिस्तानी टोली अस्ट्रेलिया भ्रमणमा थियो। यहाँ उनीहरुको परिचय मित्रतामा परिणत भयो र त्यसपछि भेटघाटको सिलसिला सुरु भएको थियो।
करिब ५ महिना एकअर्कालाई ‘डेट’ गरेपछि दुवैले सन् २०१० मा विवाह गर्ने निर्णय गरेका थिए। सानिया र शोएबको विवाह १२ अप्रिल २०१० मा हैदराबादमा भएको थियो।
१५ अप्रिलमा लाहोरमा स्वागत समारोह आयोजना गरिएको थियो। सानिया मिर्जा र शोएब मलिकले पाकिस्तानको लाहोरमा आफ्नो विवाहको रिसेप्शन दिएका थिए। विवाहको ८ वर्षपछि उनीहरुको छोरा जन्मिएको थियो।
छोराको जन्म हुँदा सानियाले टेनिसबाट डेढ वर्षको ब्रेक लिएकी थिइन्। सानियाले आफ्नो आत्मकथा ‘एस अगेन्स्ट ओड्स’ मा लेखेकी छिन् कि शोएब उनको जीवनमा यस्तो समयमा आएका थिए, जब उनी आफ्नो व्यावसायिक जीवनमा समस्याको सामना गरिरहेकी थिइन्।
सानियाले गत वर्ष जनवरीमा टेनिसबाट सन्नयास लिएकी थिइन्। उनले हैदराबादको लालबहादुर रंगशालामा भारतका रोहन बोपन्नासँग बिदाइ खेल खेलेर टेनिसलाई ‘बाईबाई’ गरेकी थिइन्।
सानियाले आफ्नो टेनिस करियरमा अधिकांश खेल डबल्स र मिक्स्ड डबल्स विधामा खेलेकी थिइन्। उनले ६ ग्राण्डस्लाम जितेका छन्। उनी २०१६ रियो ओलम्पिकमा पनि सेमिफाइनलमा पुगेकी थिइन्। ग्राण्ड स्लामबाहेक उनले आफ्नो करियरमा विभिन्न तहमा ४३ उपाधि जितिसकेकी छन्।
गत वर्ष नै सम्बन्धविच्छेदको हल्ला
सानिया मिर्जा र शोएबको सम्बन्ध विच्छेदको हल्ला गत वर्ष नै चर्चामा थियो। यसअघि जुलाईमा शोएब मलिकले आफ्नो इन्स्टाग्राम बायो परिवर्तन गरेका थिए। शोएबले आफ्नो बायोबाट सानिया मिर्जाको नाम हटाएका थिए।
शोएबले यसअघि आफ्नो बायोमा सानिया मिर्जाको उल्लेख गरेका थिए र ‘पतिलाई सुपरवुमन’ लेखेका थिए। पछि उसले आफ्नो बायोबाट यो लाइन हटाए।
मलिकले आफ्नो अन्तिम खेल २०२१ मा खेलेका थिए
शोएब मलिक पाकिस्तान क्रिकेट टोलीका पूर्व कप्तानसमेत भइसकेका छन्। सन् १९९९ मा वेस्टइन्डिजविरुद्ध डेब्यु गरेपछि उनले २००१ मा टेष्ट र २००६ मा टी–२० मा डेब्यु गरेका थिए।
सन् २०१९ मा उनले टेस्टबाट सन्यासको घोषणा गरेका उनले टेस्टमा १८९८ रन, एकदिवसीयमा ७५३४ र टी–२० मा २४३५ रन बनाएका छन्।
शोएबले २०२१ को टी–२० विश्वकपमा पाकिस्तानबाट खेलेका थिए, जसमा टोली सेमिफाइनलमा पुगेको थियो।
उनले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल टी–२० मा बंगलादेशविरुद्ध २० नोभेम्बर २०२१ मा खेलेका थिए। उनले अहिलेसम्म अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छैनन्।
पहिलो विवाह आयशासँग
शोएबको पहिलो विवाह आयशा सिद्दीकीसँग भएको थियो। उनले सन् २००२ मा भारतको हैदराबादकी मोडल आयशा सिद्दीकीसँग भएको थियो।

सन् २०१० मा आयशासँग सम्बन्धविच्छेद गरेपछि शोएबले सानिया मिर्जासँग दोस्रो विवाह गरे। उनीहरुको सम्बन्ध १४ वर्षसम्म चल्यो र अहिले उनले पाकिस्तानी अभिनेत्री सना जावेदसँग तेस्रो विवाह गरेका छन्।

