कम्पाला, युगान्डा । अफ्रिका महादेशमा पहिलो पटक पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले अफ्रिकामा बसोबास गरिरहेका नेपालीका समस्या आफूले प्राथमिकतामा राखेर समाधान गर्ने जनाएका छन्।
असंलग्न राष्ट्रहरुको १९ औं शिखर सम्मेलनमा भाग लिन युगाण्डाको कम्पाला आइपुगेका प्रधानमन्त्री दाहालले गैरआवासीय नेपाली संघ युगान्डा र नेपाली मानार्थ वाणिज्यदूत युगाण्डाद्वारा बिहीबार संयुक्तरुपमा आयोजित स्वागत तथा अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो जनाएका हुन्।
परराष्ट्रमन्त्री एनपी साउदले विदेशमा रहेका नेपालीहरुका समस्याबारे सरकार जानकार रहेको र यसको समाधानको लागि कटिबद्ध रहेको जनाए । ‘अफ्रिकामा रहेका नेपालीहरुका समस्याबारे यहाँ आउदा जानकारी पाएँ, अब तिनलाई समाधान गर्नेछौँ,’ उनले भने ।
कार्यक्रममा एनआरएनए युगान्डाका तर्फबाट पूर्वअध्यक्ष विनोद थापाले अफ्रिकामा नेपालीहरुको स्थिति र बेहोर्नु परेको समस्याबारे जानकारी गराएका थिए ।
उनले मानव तस्करहरुले अमेरिका पुर्याउने भन्दै ‘ट्रान्जिट’ को रुपमा यहाँल्याई अलपत्र पारिदिने, अबैध रुपमा नेपाली महिलालाई डान्सबारमा काम गर्न भन्दै ल्याउने, श्रम स्वीकृति, पासपोर्ट नवीकरण, काठमाडौंस्थित विमानस्थलमा अध्यागमनले दिने दु:ख, बैंकिङ्ग कारोबार लगाएतका समस्या समधानका लागि पनि अनुरोध गरे।
कार्यक्रममा युगाण्डाका लागि नेपालका अवैतनिक वाणिज्यदूत डा. सुधीर रुपारेलियाले युगाण्डामा नेपालका प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगाएत उच्च अधिकारीलाई स्वागत गर्न पाउँदा खुशी लागेको जनाए । उनले नेपाल र अफ्रिकाले लगानी र समृद्धिका लागि साझेदारी बढाउन थप प्रयत्न गर्नु पर्ने आवश्यकतामा जोड दिए। कार्यक्रममा परराष्ट्र सचिव सेवा लम्साल लगाएत नेपाल सरकारका उच्च अधिकृतहरुको समेत उपस्थिति थियो ।
एनआरएनए युगान्डाकी अध्यक्ष रमा अर्यालको सभापतित्वमा सञ्चालित कार्यक्रममा गैर आवासीय नेपाली संघ युगान्डाका पूर्व अध्यक्ष तथा संरक्षक रमेश कँडेलले युगान्डामा ३५० जनाभन्दा बढी नेपाली रहेको र विगत ३० वर्षदेखि नेपालीहरूले युगान्डाको विकास निर्माण र व्यापार व्यवसायमा समेत राम्रो भूमिका निर्वाह गरिरहेको जनाए ।
राजधानी कम्पालास्थित साइन क्विजिनमा आयोजित कार्यक्रममा अध्यक्ष रमा अर्यालले आफ्नो देशको प्रधानमन्त्री लगायतका नेताहरू भेट्न पाउँदा अत्यन्तै खुसीका साथै अभिभावकत्व महसुस भएको जनाइन् । उनले नेपालमा भूकम्प होस् वा कोभिड महामारी, अफ्रिकास्थित नेपालीहरुले सक्दो सहयोग गर्दै आएको बताउँदै नेपाल तथा युगान्डाबीच व्यापार एवं पर्यटन प्रवर्द्धन गर्न आफुहरु क्रियाशील रहेको जनाइन्। उनले प्रधानमन्त्री दाहाल तथा परराष्ट्रमन्त्री साउदलाई मायाको चिनो पनि प्रदान गरेकी थिइन् ।
अध्यक्ष अर्यालका साथै संघका पूर्व अध्यक्षहरु रमेश कँडेल, बिनोद थापा, प्रेम श्रेष्ठ लगाएतले विशिष्ट अतिथिहरुलाई स्वागत गरेका थिए ।


