झापा / कस्तुरीको बिना र लोथर्केको छाला तस्करीको आरोपमा सिक्किमका एक जना पूर्व प्रहरी बिहीबार सिलिगुडीनजिकै बागडोगराबाट पक्राउ परेका छन् ।
पश्चिम बंगाल वन विभागका कर्मचारीले गोप्य सूचनाका आधारमा सिक्किम पुलिसका पूर्व डीएसपी डेनी भुटियालाई पक्राउ गरेको हो ।
वन विभागलाई प्राप्त सूचनाअनुसार हालै नेपालबाट तस्करी गरी भारत पुर्याइएको उक्त वस्तु भुटियाले करिब ३ करोड भारुमा बिक्री गर्न लागेका थिए । सामान मोलतोल गर्दा गर्दै वन विभागको टोलीले उनलाई रंगेहात पक्राउ गरेको थियो । भुटिया सिक्किमको सत्ताधारी दलका सक्रिय कार्यकर्ता पनि हुन् । नेपाललगायतका केही देशमा प्रतिबन्धित कस्तुरी बिना सुगन्धित किसिमको बहुमूल्य वस्तु मानिन्छ ।
विश्वका ३५ बढी देशमा भने यसको वैधानिक व्यापार नै हुन्छ । विश्व बजारमा प्रतिग्राम ९५ अमेरिकी डलरमा खरिदबिक्री हुने यो सुनभन्दा महँगो भएको बताइएको छ ।


