काठमाडौं । स्पेनले ब्राजिलसँग मैत्रीपूर्ण अन्तराष्ट्रिय फुटबल खेल्ने भएको छ ।
स्पेनले रियल मड्रिडको घरेलु मैदान बर्नवेउमा मार्च २६ मा ब्राजिललाई बोलाएर मैत्रीपूर्ण अन्तराष्ट्रिय फुटबल खेल्ने भएको हो ।
रङभेदविरुद्ध जागरण फैलाउने उद्धेश्यले स्पेनले मैत्रीपूर्ण फुटबलको आयोजना गरेको हो ।
रियल मड्रिडका फरवार्ड भिनिसियस जुनियरविरुद्ध स्पेनमा एकपछि अर्को रङभेदी दुर्व्यवहारको घटना घटेपछि स्पेनले यस कार्यक्रमको पहलकदमी लिएको हो । दुवै देशका फुटबल महासंघ मिलेर मैत्रीपूर्ण फुटबलमार्फत यो अभियान सञ्चालन गर्न लागेका हुन् ।
ब्राजिलका भिनिसियस ५ वर्षअघि देखि स्पेनमा खेल्न लागेयता रङभेदको दुर्व्यवहारको शिकार हुन परिरहेको छ ।
गत सिजन भ्यालेन्सियाविरुद्धको खेलमा मड्रिड स्टार भिनिसियसमाथि दुर्व्यवहार भएको थियो । सो घटनापछि उनले ला लिगा फुटबलमा रङभेद सामान्य रहेको बताएका थिए । उनले ब्राजिलमा स्पेनलाई रङभेदी देशको रुपमा चिनिने टिप्पणी गरेका थिए ।
त्यसपछि ब्राजिली फुटबल महासंघ र ब्राजिली सरकारले स्पेनका अधिकारीसँग भिनिसियसमाथि भएको रङभेदी आक्रमणलाई लिएर कारबाही गर्न आग्रह गरेको थियो । त्यसपछि ला लिगाले घटनामा संलग्न माथि उजुरी गरेको थियो । आरोपितले आफुमाथि लागेको आरोपलाई अस्विकार गरेका थिए ।
ला लिगाले गत अक्टोबरमा रंगभेदविरुद्धको अभियानमा आफुलाई सक्रिय बनाउँदै सामाजिक सञ्जालमाथि निगरानी गर्ने काम सुरु गरेको छ ।
नयाँ वर्षको क्यालेन्डर अनुसार दुवै टिम पहिलो पटक आमने सामने हुने पक्का भएको हो । ब्राजिलका नयाँ प्रशिक्षक डोरिभल जुनियरको डेब्यु स्पेनविरुद्धको खेलबाट हुने पक्का भएको छ ।


