काठमाडौं । एनआइएमबी एस क्यापिटलले आजदेखि ‘एनआइबीएल स्टेबल फन्ड’ बिक्री खुला गरेको छ । क्यापिटलले ‘एनआइबीएल स्टेबल फन्ड’ को कुल १० करोड इकाई बिक्री खुला गरेको हो ।
जसमध्ये १० लाख इकाई योजना व्यवस्थापक एनआइएमबी एस क्यापिटललाई छुट्याइएको छ । यस्तै, १ करोड ४० लाख इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई सुरक्षित गरेको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।
लगानीकर्ताले माघ ५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएमा माघ १६ गतेसम्म खुला रहनेछ । प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।
यो बन्दमुखी योजना हो । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइएमबी एस क्यापिटलले गरेको छ ।
यस योजना संचालन गर्ने अनुमति नेपाल धितोपत्र बोर्डबाट यहि मिति २०८० मंसिर २१ गते प्राप्त भएको थियो ।
यस योजनाको आकार १ अर्ब र समयावधि १२ वर्षको रहेकोे छ र यो हाल सम्मकै सबैभन्दा लामो अवधि भएको बन्दमुखी योजना समेत रहेको छ ।
योजनाको अवधि भर यस योजनाले बार्षिक प्रतिफलको रुपमा १६.१८ प्रतिशत प्रतिफल आफ्ना इकाईधनीहरुलाई दिन सक्ने प्रक्षेपण समेत गरेको छ ।


