काठमाडौं । अग्रज संगीत संयोजक तथा बाद्यवादक नोर्बु छिरिङ आप्पाको सोमबार ७५ वर्षको उमेरमा निधन भएको छ ।
आज बिहान ललितपुरको हात्तीवनस्थित निवासमा उनको निधन भएको संगीतकार संघले जानकारी दिएको छ । उनीसँग दुई दशक सहकार्य गरेका संगीत संयोजक (एरेन्जर) फणिन्द्र राईले पनि आप्पाको निधन भएको बताए । ‘एकाबिहानै उहाँ घरमा ढल्नुभयो भन्ने कुरा थाहा पाएँ,’ अनलाइनखबरसँग उनले भने । पछिल्लो समय अशक्त रहेका छिरिङले कोभिडको लकडाउनपछि बाद्यवादन छाडेका थिए ।
उनले नारायणगोपाल र म्युजिक नेपालका गीतमा पनि संगीत संयोजन गरेका थिए । ‘उहाँ नम्र र सज्जन मान्छे हो । धेरै बोल्ने बानी थिएन । रिजर्भ बस्नुहुन्थ्यो । उहाँ क्वालिफाइड पनि हो,’ छिरिङको स्वभावबारे राईले भने । ०५१ सालदेखि एरेन्जरको काम थालेका उनले कुपण्डोलको सान स्टुडियोमा लामो समय काम गरे । छिरिङका श्रीमती र दुई छोरी छन् । एक छोरी क्यानडा र अर्की बेलायतमा छन् ।
दुवै छोरी नेपाल आएपछि बौद्ध पम्पराअनुसार अन्तिम संस्कार गरिने भएको छ । संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटाले अमर स्रष्टा छिरिङको निधनले नेपाली संगीत क्षेत्रलाई मर्माहत तुल्याएको बताए । नोर्बु छिरिङले संगीत संयोजन गरेका ‘जीवन भनुँ त घात छ’, ‘किन फेरि माया सम्झी तड्पिन्छ मन’ लगायतका थुप्रै गीत चर्चित छन् । उनीसँग नारायण गोपाल, नाती काजी, भक्तराज आचार्य लगायतले सहकार्य गरेका थिए ।


