काठमाडौं / गत साता काठमाडौंको बालकुमारीमा भएको घटनाले सरकारको असफलता फेरि उजागर गरेको छ । विगत केही वर्षयता राजनीतिक दल र तिनका नेताहरु देश विकासमा असफल साबित भइरहँदा र युवालाई देशमा बसेर काम गर्ने वातावरण बनाउन नसक्दाको उपजको रुपमा बालकुमारीको घटनालाई लिन सकिन्छ ।
गत साता कोरियन भाषा परीक्षा विवादका कारण बालकुमारीमा भएको प्रदर्शनमा दुई युवाको मृत्यु भएको हो । देशमा नै रोजगारीको व्यवस्था नभएका कारण आकर्षक रोजगारीका लागि कोरिया जान खोजिरहेका युवा परीक्षा दिनबाट वञ्चित हुने अवस्था आएपछि प्रदर्शनमा थिए । त्यही क्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला प्रदर्शनस्थल आइपुगे । आक्रोशित युवाले उनलाई गाडीबाट ओरोलेर गाडीलाई भने जलाइदिए । त्यही कारण प्रहरीले पनि बल प्रयोग गर्दा निम्न आर्थिक अवस्था भएका देशका दुई युवाले ज्यान गुमाउनु प¥यो ।
नेपालमा अहिले दलाल व्यवस्था हावी भएको छ । मुलुकमा लोकतन्त्र र गणतन्त्र स्थापना त भएको छ, यसको अनुभूति भने जनताले गर्न पाएका छैनन् । करिब दुई दशकदेखि राजनीतिक दलहरुले शासनव्यवस्था सम्हाले पनि उनीहरु देशमा विकास र रोजगारी सृजनामा असफल साबित भएका छन् । फलस्वरुप अहिले हरेक युवा विदेश पलायन हुने तरखरमा छ । देशमा अहिले हरेक वस्तु आयात हुने गरेको छ । तर, निर्यात भने युवाको मात्र भइरहेको छ । अशिक्षित, अदक्ष युवा खाडी मुलुकमा गइरहेका छन् भने विद्यार्थी, शिक्षित युवा अमेरिका, अस्ट्रेलिया, क्यानडा र युरोप जस्ता स्थानमा पुगिरहेका छन् । दैनिक १५ सय युवा वैदेशिक रोजगारीका लागि पलायन हुँदा देश चाँडै युवाविहीन हुने अवस्था आएको छ ।
दलाल व्यवस्था हावी हुँदा अहिले हरेक मुलुकसँग सम्झौता गरेर युवा निर्यात गर्ने धन्दा नै चलेको छ । यसो गर्दा यहाँका सीमित म्यानपावर व्यवसायी मोटाएका छन् । यस्तो व्यवसाय गर्नेमा नेताहरु पनि छन् । जो संलग्न छैनन्, उनीहरुले पनि कमिसनका रुपमा मोटो रकम बुझ्दै आएका छन् । गत निर्वाचनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनतालाई प्रलोभनमा पार्न ‘बिना ढेउवाके’ (पैसा नलिईकन) विदेश पठाइदिने आश्वासन दिएका थिए । यस्तै, नेपाली कांग्रेसकी नेतृ आरजू राणाले पनि युवालाई विदेश जान प्रोत्साहित गर्ने भाषणबाजी गरेकी थिइन् । त्यसैले युवालाई विदेश जान बाध्य पार्न नेताहरु नै सहभागी छन् भन्ने स्पष्ट हुन्छ ।
नेपालमा रोजगारीको कमीका कारण धेरै युवा वैदेशिक रोजगारी तथा अन्य बहानामा विदेश पुगिरहेका छन् । हाल नेपालबाट काम र अध्ययनका लागि युवा विदेशिरहेका छन् । रोजगारी नहुँदा अदक्ष, अर्धदक्ष, दक्ष सबैखाले जनसंख्या खाडी मुलुक, दक्षिण कोरिया, युरोप, अमेरिकाजस्ता स्थानमा पुगिरहेका छन् । खाडी मुलुकमा जाने नेपाली आफ्नो श्रम गर्नसक्ने उमेरसम्म त्यहीँ रहने र काम गर्न नसक्ने भएपछि मात्र नेपाल फर्किने गरेका छन् । त्यसैले नेपाली सस्तो श्रमको उपयोग गरेर खाडी मुलुक झनै समृद्ध बनिरहेका छन् । अर्कोतर्फ जापान, युरोप, अस्ट्रेलिया, अमेरिका तथा क्यानडा जस्ता स्थानमा अध्ययनका लागि भनेर धेरै नेपाली विद्यार्थी पुगेका छन् । यहाँ जानका लागि ठूलो रकम खर्च गर्नुपर्छ । त्यस्तै अध्ययनका लागि पनि नेपालबाट ठूलो रकम विद्यार्थीले लैजाने गर्छन् । एकातर्फ उनीहरुले यसरी नेपालबाट रकम कमाइरहेका छन् भने अर्कोतर्फ त्यहाँ पुग्ने नेपाली विरलै मात्र नेपाल फर्कन्छ । नेपालीलाई स्थानीय नागरिकभन्दा सस्तो पारिश्रमिक दिँदा हुने भएकाले उनीहरुलाई पनि त्यहीँ बस्ने व्यवस्था गरिएको छ । नेपालीहरु पनि यहाँको राजनीतिक अवस्था, अविकासजस्ता कारणहरुले विदेशमा नै बस्न रुचाइरहेका छन् ।
यस्तो अवस्था आउनुको कारण हो, राजनीतिक असफलता, बेरोजगारी र काम गर्ने वातावरण नहुनु । नेपालमा केही दशकमा विभिन्न व्यवस्था फेरिएका छन् । यसले राजनीतिक रुपमा सफलता देखिए पनि जनताको हकमा भने कुनै परिवर्तन भएको छैन । विभिन्न आन्दोलनले नयाँ पार्टी तथा नेतालाई राजनीतिमा स्थापित गरे पनि उनीहरु सक्षम, योग्य र काबिल हुन नसक्दा त्यसको असर देशलाई परेको छ । हरेक राजनीतिज्ञले आफ्नो दुनो सोझ्याउँदा देश विकास ओझेलमा परेको छ । देशमा केवल राजनीतिक परिवर्तन मात्र नभएपछि निराश भएका युवाले विकल्प खोज्ने नै भए । फलस्वरुप अहिले सयौं युवा दैनिक विदेश लागिरहेका हुन् ।
असफल राजनीतिका कारण देशमा विकास निर्माण ठप्प छ । कलकारखानामा उत्साह छैन, कृषक हतोत्साही भएका छन् । देशका वर्षेनि ५ लाख जना रोजगारीको बजारमा आउने गरेका छन् । तर, सरकार रोजगारी सृजना गर्न असफल साबित भइरहेको छ । देशमा रोजगारी नहुनु, भएका रोजगारी पनि अति नै न्यूनतम पारिश्रमिक हुनु, कृषकलाई प्रोत्साहन नहुनु जस्ता कारणले पनि वैदेशिक रोजगारीमा जाने बढिरहेका छन् । तर, सरकार भने श्रम सम्झौता अन्त्य गर्ने र युवालाई देशमै बस्ने वातावरण निर्माण गर्न असफल साबित भइरहेको छ ।
जनधारणा साप्ताहिक