काठमाडाैं । कार्यपालिकाको निर्णय विपरीत काम गरेको आरोपमा काठमाडाैं महानगरपालिकाले ३ जना कर्मचारीलाई निलम्बन गरेको छ ।
महानगरले नगर प्रमुख (मेयर) बालेन शाहका सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारीलाई निलम्बन गरेको प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले जानकारी दिए । ‘कार्यपालिकाको निर्णय विपरीत फरक व्यहोरा उल्लेख गरेर उहाँहरूले स्वास्थ्य प्रवर्द्धन केन्द्रमा कर्मचारीलाई निरन्तरता दिने निर्णय प्रमाणीकरण गर्नुभयो,’ उनले भने ।
कार्यपालिकाले गरेको निर्णय हेरफेर गरेको आरोपमा तीनै जनालाई निलम्बन गरिएको छ । पुसमा बसेको नगर कार्यपालिका बैठकले वडा नम्बर १९ को स्वास्थ्य प्रवर्द्धन केन्द्रमा ५ जना कर्मचारीलाई निरन्तरता दिने निर्णय गरेको थियो तर त्यसमा वरिष्ठ शाखा अधिकृत बिडारीले नियतवश आफ्नो छोरी सुप्रिया ढुंगेलको नाम उल्लेख गरी ६ जना बनाएको आरोप लगाइएको छ । प्रबर्द्धन केन्द्र द मान्डुस् फ्रान्सको आर्थिक सहयोगमा चलिरहेको थियो ।
सम्झौता अवधि सकिएपछि महानगरले सञ्चालन गर्ने भनेर कार्यपालिकाले निर्णय गरेको थियो । मेयर बालेनका स्वकीय सचिव भूपदेव शाहले पनि अनियमितताबारे सचिवालयमा सूचना प्राप्त भएको जनाए । महानगरले समिति गठन गरेर थप छानबिन गरिरहेको छ ।
घटनामा शहरी योजना आयोगका उपाध्यक्ष सुमननरसिंह राजभण्डारीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । समितिमा कानूनी सल्लाहकार ओमप्रकाश अर्याल र प्रशासन विभागका उपनिर्देशक प्रवीण प्याकुरेल छन् ।