काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपतीय प्रणाली समस्याको समाधान नभएको जनाएका छन्। नेपाली कांग्रेसद्वारा मेलमिलाप दिवसमा आयोजित कार्यक्रममा एक जना वक्ता पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले स्थिरता र सुशासनका लागि एउटा विकल्पको रुपमा राष्ट्रपतीय प्रणाली अपनाउनुपर्ने प्रस्ताव राखेपछि अध्यक्ष नेपालले प्रतिवाद गरेका हुन्।
‘बाबुरामजी यहाँ हुनुहुन्न, उहाँसँग म बहस गर्न तयार छु। राष्ट्रपति प्रणाली या प्रत्यक्ष निर्वाचित प्रणाली कुनै समस्याको समाधान होइन। संसारका धेरै देशमा मैले देखेको छु। राष्ट्रपतिको तानाशाहीले त्यो देशका जनतालाई वाक्कदिक्क बनाएको छ’, नेपालले भने।
उनले संसदीय प्रणालीको विकल्प समुन्नत संसदीय प्रणाली हुनसक्ने जनाए । तर राष्ट्रपतीय प्रणाली वा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणाली भने हुन नसक्ने उनको भनाइ थियो। उनले धेरै देशसँगको अन्तर्क्रियापछिको आफू सो निष्कर्षमा पुगेको जनाए। ‘यसबारेमा कुनै किसिमको भ्रम र दुविधा राखेर, राजनीतिक अस्थिरताले समस्या खडा गरेको होइन। समस्या भ्रष्टाचारले खडा गरेको छ। यसलाई अन्त्य गर्न सक्दैनौं भने कुनै सिस्टमले पनि काम गर्दैन’, उनले भने।
अध्यक्ष नेपालले देशलाई साँच्चै अगाडि बढाउने हो भने बोली र व्यवहार एउटै हुनुपर्ने जनाए। ‘हामी साँच्चै इमानदारीका साथ लाग्ने हो भने देश बनाउन सक्छौं। यो अरु कुनै सिस्टममा गएर हुनेवाला छैन’, उनले भने। नेपालभन्दा अगाडि बोलेका भट्टराईले भने अहिलेको शासकीय स्वरुप र निर्वाचन प्रणालीमा त्रुटि देखिएको बताएका थिए। उनले सुशासन र समृद्धि ल्याउनका लागि समस्याको समग्रतामै हल खोज्नुपर्ने प्रस्ताव गरे।
भट्टराईले पहिलो उदाहरण जर्मनीको दिए। भने, ‘जर्मनीमा एन्जेला मार्केलले सोसल डेमोक्र्याट र क्रिस्चियन डेमोक्र्याट जस्ता अपोजित पार्टीहरू मिलेर मिलेर १०र१५ वर्ष मजाले चलाए। ठूलो संकट पार गरे।’ उनले जर्मनीमा जस्तै गरी यहाँ पनि सबै प्रमुख दलहरूको संयुक्त सरकार बनाउन सकिने उनको प्रस्ताव थियो। ‘पाँचै वर्ष सरकार चल्ने बनाऔं। किन भागबण्डा गर्नुपरेको छरु एउटा मान्ने मान्छेको नेतृत्वमा पाँचै वर्ष सरकार चलाऔं न। नीति कार्यक्रम बनाऔं। त्यसलाई कार्यान्वयन गरौं’, उनले भने।
भट्टराईले दोस्रो उदाहरण दिए स्विजरल्याण्डको। भने, ‘स्वीजरल्याण्डको जस्तो पूर्ण समानुपातिक गरौं। सबै सरकारमा बसौं। जसले जति प्रतिशत मत ल्याउँछ, ती सबै सरकारमा बस्ने।’
जर्मनी र स्विजरल्याण्डको जस्तो गर्न नसक्ने हो भने प्रत्यक्ष निर्वाचन राष्ट्रपतिको प्रणालीमा जान उनको प्रस्ताव थियो। ‘त्यसो भयो भने पाँच वर्ष स्थायी सरकार बन्छ। त्यसो नगरेर यही प्रणाली अपनाइ राख्ने हो भने बन्दैन बन्दैन। अनि युवाहरू देश छोडेर हिँड्ने। तपाईं हाम्रै छोराछोरी देशमा नबस्ने। अनि हामीले लोकतन्त्रको डम्फु बजाएर हुन्छ ?’ भट्टराईले ६र६ महिनामा र वर्षवर्ष दिनमा सरकार फेरेर सुशासन नआउने जनाए । ‘१०र१५ वटा पार्टीको सरकार बनाउँछौं। सबैलाई मन्त्री चाहिन्छ। आफ्नै पार्टीभित्र पनि मन्त्री बनाउन ६र६ महिना, ३र३ महिनामा मन्त्रिपरिषद् पुनर्गठन गर्छौं। अनि कहाँबाट सुशासन हुन्छरु’, उनको प्रश्न थियो।