काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले बालकुमारी घटनामा छानबिनका लागि उच्चस्तरीय न्यायिक समिति गठन गर्न सरकारसँग माग गरेको छ।
आइतबार पार्टी केन्द्रीय कार्य समिति बैठकको निर्णय सार्वजनिक गर्दै पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले दुई जना युवाको ज्यान जाने गरी भएको सो घटनालाई गम्भीरतापूर्वक लिई सरकारले त्यसको सत्यतथ्य पत्ता लगाउन सो समिति तत्काल गठन गर्नुपर्ने माग गरिएको जनाए ।
सो घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्नका लागि पनि न्यायिक समिति आवश्यक भएकाले त्यसलाई तत्काल गठन गर्न पार्टी केन्द्रीय कार्य समिति बैठकले सरकारसँग माग गरेको पनि प्रचार विभाग प्रमुख विश्वकर्माले जनाए ।
त्यसैगरी बैठकले सो घटनामा परी ज्यान गुमाएकाका परिवारका एक जना सदस्यलाई उचित रोजगारीको व्यवस्था तत्काल गर्न पनि सरकारलाई सचेत गराएको छ। मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्न पनि सरकारलाई भनिएको कांग्रेसले जनाएको छ।
कांग्रेसले त्यस्ता घटना आगामी दिन दोहोरिन नदिन विशेष नीति अवलम्वन गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ।