काठमाडौं । शुक्रबार दिउँसो ललितपुरको बालकुमारीमा २ जनाको मृत्यु हुने गरी भएको घटनाको प्रधानमन्त्री प्रचण्डले जानकारी लिएका छन् ।
शनिबार बिहान प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रीसहित सुरक्षामा खटिएका अधिकारीहरूलाई बालुवाटार बोलाएर घटनाबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ । ब्रिफिङमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरी महानिरीक्षक वसन्त कुंवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायत उपस्थित थिए ।
उनीहरूले घटनाको बारेमा जानकारी गराउँदै छानबिन समितिसमेत गठन गरिएको प्रधानमन्त्रीलाई बताएका छन् । प्रधानमन्त्रीले घटना आकस्मिक र दु:खद् भएको जनाउँदै छिटो र निष्पक्ष छानबिन गर्न निर्देशन दिए ।