काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर परिसरमा रहेको मण्डल (यन्त्र) उत्खनन गरेपछि जनप्रतिनिधि र संस्कृतिविद्ले विरोध गरेका छन् । लिच्छविकालदेखि चलिआएको वत्सलेश्वरीको जात्रामा पूजा गरिने मण्डल मङ्गलबार उत्खनन गरेपछि धार्मिक अभियन्ता र संस्कृति क्षेत्रका अगुवाले बिहीबार मन्दिर परिसरमै गएर विरोध जनाएका हुन् ।
काठमाडौँ महानगरपालिका वडा नं. ८ का अध्यक्ष आशामान सङ्गतले सांस्कृतिक महत्वको यन्त्र सम्बन्धित क्षेत्रलाई जानकारी नगराई कोषले निकालेको बताउनुभयो । उहाँले भन्नुभयो, “तान्त्रिक विधिबाट पूजा गरेर राखिएको यन्त्रमा वत्सलेश्वरीको जात्रामा रथ उठाइसकेपछि पशुपति मन्दिर परिसरस्थित सरस्वतीस्थानमा लगेर तीन पटक ठोक्काइन्छ र अहिले भत्काएको मण्डलमा राखेर ल्याएर राखिन्छ । त्यहाँ पूजा गरिन्छ । यो परम्परा लिच्छविकालदेखिकै हो ।”
वडाध्यक्ष सङ्गतले मौलिक संस्कृतिसँग जोडिएको यन्त्र उत्खनन गर्नै नमिल्ने बताउनुभयो । उहाँका अनुसार विशेष पूजा गरेर मात्रै यसलाई छुन मिल्छ । उहाँले भन्नुभयो, “पहिल्यैदेखि यो यन्त्र बाटोमै छ, अहिलेसम्म कुनै समस्या नभएको कोषले कसैलाई नसोधी किन निकाल्यो ? जवाफ चाहन्छौँ ।”
फेरि राख्छौँ : खत्री
कोषका कार्यवाहक सदस्यसचिव राजुकुमार खत्रीले मन्दिर परिसरको मण्डल फेरि राखिने बताउनुभयो । उहाँले छ अमल गहिरो पारेर राखिने र वरिपरि घेरा बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, “मण्डल झिकेर बाहिर राखिएको छ, सडकमा रहेको मण्डल शववाहन आउँदा क्षति पुग्ने भएर अलि गहिरो पारेर राख्ने तयारी गरिएको छ ।”
‘मण्डल निकाल्नै मिल्दैन’
पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले विश्व सम्पदाभित्र रहेका संरचनामा कुनै काम गर्दा विभागको स्वीकृति लिन अनिवार्य रहेको बताउनुभयो । उहाँले कोषले मण्डल निकाल्ने विषयमा विभागलाई कुनै जानकारी नदिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म जानकारी आएको छैन । प्राचीन स्मारक संरक्षण ऐन र विश्व सम्पदा क्षेत्रको भएका कारण कुनै पनि काम गर्दा विभागको सहमति लिएर गर्नु पर्छ । यस विषयमा गम्भीर रूपले हामी बुझ्ने छौँ ।” Gorkha patra