काठमाडौँ / समाजवादी मोर्चाले मोर्चाको संयोजकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निरन्तर गर्ने निर्णय गरेको छ । बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मोर्चाको संयोजकमा नेपाललाई निरन्तरता दिने निर्णय गरेको हो ।
‘माधवकुमार नेपाल अहिलेसम्म मोर्चाको संयोजक हुनुहुन्थ्यो । यसअघि तोकिएको कार्यकाल सकिएको थियो,’ बैठकपछि नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले भने, ‘अब उहाँलाई नै मोर्चाको संयोजककारुपमा निरन्तर गर्ने निर्णय भएको छ ।’
बैठकले हाल मोर्चाको संगठन ४७ जिल्लामा विस्तार भएको र त्यो क्रमलाई ७७ वटै जिल्लामा पुर्याउने निर्णय भएको पाण्डेले बताए ।
त्यस्तै, यसवर्षको सहिद दिवस सप्ताहलाई विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाउने मोर्चाको निर्णय छ । ‘वर्तमान राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै सरकारलाई जनमुखी बनाउन के के गर्न सकिन्छ ? त्यसबारे सरकारलाई सुझाव दिने कुरा भयो,’ पाण्डेले भने, ‘अर्को कुरा अहिले प्रधानमन्त्रीज्यू र समाजवादी मोर्चाका केही नेताहरूविरुद्ध केही मुद्दाहरू छन् । र ती अदालती प्रक्रियामा रहँदा बेला–बेला चर्चामा आउँछन् । तर त्यसलाई किनारा लगाउन अहिलेसम्म सरकारसँग भएका सम्झौताहरूको कार्यान्वयन गर्नुपर्ने कुराहरू छन् । ती सहमति र सम्झौताहरूलाई कार्यान्वयन गराउने भन्ने निर्णय भएको छ ।’