सिमकोट । स्थानीय पाठ्यक्रम तयार गर्ने क्रममा रहेको सिमकोट गाउँपालिकालाई सरोकारवाला पक्षले स्थानीय केन्द्रित भएर पाठ्यक्रम तयार गर्न सुझाव दिएका छन्।
कार्यक्रममा गाउँपालिकाभित्रको परम्परागत स्थानीय मौलिक ज्ञान, सीप र कला क्षेत्रलाई महत्वका साथ स्थान दिन सुझाव दिएको हो।
स्थानीय पाठ्यक्रमका लागि आफ्नो सुझाव दिँदै कन्जोक लामाले सम्पूर्ण रूपमा पाठ्यक्रम स्थानीय विषयवस्तुलाई समेट्नुपर्ने सुझाव दिए।
उनले समावेशिता र विविधतालाई ध्यानमा राखेर स्थानीय भूगोल, जातजाति,, भाषा, संस्कृति, परम्परा, सम्पदा, कला, चाडपर्व, रहनसहन र वेशभूषालाई समेट्न आग्रह गरे।
त्यसैगरी, उनले लोपोन्मुख र अल्पसांख्यिक विषयलाई पनि समेट्न आग्रह गरे। सहभागीले सकारात्मक सोच, सदाचारी र नैतिक शिक्षामा जोड दिनुपर्ने बताए।
पाठ्यक्रम स्थानीय मौलिक शैलीमा सरलबाट जटिलतर्फ निर्माण गर्न सुझाव दिए। त्यसैगरी, पाठ्यक्रम निर्माण एकीकृत र वर्गीकृत ढाँचामा तयार गरिनुपर्ने, विषय विज्ञ, स्रोतमा जानकार व्यक्तित्वबाट ऐतिहासिक महत्वका विषयको खोजी र तयारी गरिनुपर्ने सुझाव कार्यक्रममा दिइएको थियो।
प्राकृतिक, मौलिक र स्थानीय विषयवस्तुको ज्ञानलाई विज्ञान प्रविधिको माध्यमले विश्व परिवेशसँग जोड्न पनि सुझाव दिइएको थियो। गाउँपालिकाले स्थानीय पाठ्यक्रमको नाम हाम्रो सिमकोट राख्ने निर्णय यसअघि नै कार्यतालिका बैठकले गरिसकेको छ। पाठ्यक्रममा हामी र हाम्रो वरिपरिको वातावरण, हाम्रो चालचलन, हाम्रो वरिपरिका सम्पदा र रमणीय स्थल,, हाम्रो पेसा र आयआर्जन, नैतिक शिक्षा र व्यक्तित्व विकास, नागरिक शिक्षा र सामाजिक चेतना, हाम्रो सीप र प्रविधिको प्रयोग, वातावरण संरक्षण र विपद न्यूनीकरण शीर्षकमा पाठ्यक्रम तयार गरिने गाउँपालिका शिक्षा शाखाका नायव सुब्बा कृष्णप्रसाद अधिकारीले बताए।
उनले धेरै विज्ञबाट उपयोग सुझाव आएको र यसबाट पाठ्यक्रम तयार गर्न सहज भएको बताए। यसअघि गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयारी उपसमिति समेत गठन गरेको थियो। जिल्लामा पहिलो पटक स्थानीय पाठ्यक्रम तयार पारेर कार्यान्वयनमा ताँजाकोट गाउँपालिकाले ल्याइसकेको छ भने नाम्खा गाउँपालिका अन्तिम चरणमा छ।