काठमाडौं । नेपाल सुपर लिग एनएसएलको प्लेअफ चरणका खेल आज सोमबारदेखि सुरु हुँदै छन् । प्लेअफ पुगेका चारै टोलीले अब हुने खेलका लागि तयार रहेको बताएका छन् ।
आइतबार भएको प्रिम्याच कन्फ्रेन्समा लिगमा शीर्ष चारमा रहेका पोखरा थण्डर्स, धनगढी एफसी, काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीका प्रशिक्षक र कप्तानले खेलका लागि तयार रहेको बताए
लिगमा शीर्ष स्थानमा रहेको पोखरा थण्डर्स र दोस्रो स्थानमा रहेको धनगढी एफसीबीच सोमबार पहिलो क्वालिफायर हुँदैछ । यस खेलको विजेता सिधै फाइनल पुग्नेछ । पोखरा र धनगढी दुवै टोली क्वालिफायर जित्दै फाइनल पुग्ने लक्ष्यमा छन् ।
पोखराका मुख्य प्रशिक्षक नविन न्यौपानेले प्लेअफ पुगेका सबै टिम राम्रो रहेको भन्दै धनगढी विरुद्धको खेललाई महत्वपूर्ण रुपमा हेरेको बताए ।
‘धनगढीसँगको खेललाई भाइटल रुपमा लिएका छौं । सबै टिम सेट भइसकेको छ । त्यो कारणले गर्दा लिगमा जस्तो प्लेअफमा अर्को विकल्प हुँदैन,’ न्यौपानेले प्रिम्याचमा भने, ‘भोलिको खेल डु अर डाईको अवस्थामा हुन्छ ।’
प्रशिक्षक न्यौपाने पाएको अवसर सदुपयोग गर्ने टिमले नै खेल जित्ने भन्दै आफूहरु अवसर सदुपयोग गर्ने मै अघि बढ्ने बताए । पोखरा थन्डर्सले लिग चरणको आफ्नो अन्तिम खेल पोखरासँग बराबरी खेलेको थियो ।
उनले भने, ‘हामीले लिगको अन्तिम खेल पनि धनगढीसँग नै खेलेको भएर भोलि त्यही अनुसार नै खेलाडीलाई टास्क दिन्छौं र त्यही जिम्मेवारी पूरा गर्दै जितको लागि खेल्छौं । ‘