काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले भूमिसम्बन्धी, सुकुम्वासी, अव्यवस्थित बसोवासी र स्ववासीका समस्या समाधानका लागि चाँडै नै नयाँ ऐन जारी गर्न लागेको बताएका छन्।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नयाँ ऐन जारी गर्नका लागि राजनीतिक सहमति जुटिसकेको र सरकारमा पनि छलफल भइसकेको बताए।
प्रधानमन्त्री दाहालले नयाँ ऐन आएसँगै लालपूर्जा वितरणको एउटा नयाँ अभियान शुरु हुने उद्घोष गरे। ५० औँ वर्षदेखिका अव्यवस्थित बसोवासीका, स्ववासीका समस्या समाधान गर्ने ढंगले ऐनको व्यवस्था भइरहेको बताए। उनले ऐनमा भएका केही त्रुटीका कारणले यो समस्या आइरहेको र अहिले आफूले समस्या फुकाउन लागेको दाबी गरे।
उनले भने, ‘भूमिसम्बन्धी समस्या र सुकुम्बासीको समस्या वा अव्यवस्थित बसोवासीको समस्या र स्ववासीको समस्या काठमाडौँ, ललितपुर र भक्तपुरमा स्ववासीको समस्या पनि एउटा ठूलै समस्याको रुपमा रहेको छ। त्यसको हल गर्नको निमित्त मैले नयाँ ऐन तुरुन्तै ल्याउँदै छु। लालपूर्जा वितरणको एउटा नयाँ अभियान शुरु हुँदैछ। म तपाईहरुलाई यो विश्वास दिलाउन चाहन्छु।’