इंग्लिस प्रिमियर लिगमा जारी सिजन शीर्ष चारको दौडमा संघर्षरत देखिएको म्यानचेस्टर युनाइटेड शनिबार साँझ भएको खेलमा वेस्टह्यामसँग २–० ले स्तब्ध भएको छ।
जारी सिजन खराब लयमा संघर्षरत रहेको युनाइटेडविरुद्ध वेस्टह्यामले अन्तिम समयमा लगातार दुई गोल गरेको थियो। ६ मिनेटभित्र दुई गोल गरेपछि युनाइटेड खेलमा फर्कन असफल भयो। यो युनाइटेडको जारी सिजनको आठौं हार हो।
लन्डन स्टेडियममा अधिकांस समय गोलरहित बराबरी भएको खेलमा वेस्टह्यामले ७२ औं मिनेटमा अग्रता बनाएको थियो। लुका पउक्वेटाको पासलाई जेरोड बउनले गोल गर्दै वेस्टह्यामलाई अग्रता दिलाए। बउनको यो जारी सिजनको ११ औं गोल हो उनी अहिले शीर्ष गोलकर्ताको दौडमा रहेका छन्। उनीभन्दा बढी अर्लिङ हालान्डले १४ गोल गर्दा उनको र मोहम्मद सलाहको समान ११–११ गोल रहेको छ।
युनाइटेडलाई स्तब्ध पार्न वेस्टह्यामका लागि दोस्रो गोल ७८ औँ मिनेटमा मोहम्मेद कुडुसले गरेका थिए। हारपछि युनाइटेड २८ अङ्कका साथ आठौँ स्थानमा रहँदा वेस्टह्याम भने ३० अङ्कका साथ छैटौं स्थानमा उक्लिएको छ।