काठमाडौँ / नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री प्रकाशशरण महतले पार्टीभित्र एकता र सद्भावको खाँचो रहेको बताएका छन् । उनले वडादेखि केन्द्रसम्म नै पार्टी सबै एकताबद्ध भएर अघि बढेको अवस्थामा नेपाली कांग्रेसलाई बहुमत ल्याउन कसैले रोक्न नसक्ने बताए ।
शनिबार वाग्मती प्रदेशको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री महतले भने, ‘पार्टीभित्र वडादेखि केन्द्रसम्म संस्थाभित्र छलफल र बहस गर्ने र त्यसपछि निष्कर्ष निकाल्ने पद्धति स्थापित गर्न जरुरी छ । पार्टी एकताबद्ध भएर अघि बढ्ने हो भने कांग्रेसलाई कसैले रोक्न सक्दैन ।’
उनले कांग्रेसकै नेताहरुले पार्टी र नेतृत्वका विषयमा टीकाटिप्पणी गर्दा समस्या सिर्जना भइरहेको बताए । ‘केन्द्रमा छलफल भइरहेको छ र सर्वसम्मत निर्णय पनि भइरहेको छ । यो निर्णय हामीले एक स्वरमा जनताको बीचमा लिएर जानुपर्नेछ,’ मन्त्री महतले भने, ‘हामीभित्र एउटा निष्कर्ष निकालेपछि अलग-अलग कुरा गर्नु पार्टीका लागि घातक हुन्छ ।’
उनले आफू धेरै नकारात्मक परिस्थितिमा अर्थमन्त्री बनेको भए पनि सुधारका लागि निकै ठूलो कसरत गरिरहेको दाबी गरे । ‘धेरै नकारात्मक परिस्थिति भएको अवस्थामा म अर्थमन्त्री बनेको थिएँ, बजेट बनाउने समय मसँग दुई महिना पनि थिएन । ओलीजीको समयभन्दा अगाडिदेखि नै समस्या चुलिन थालेको थियो,’ उनले भने, ‘बिना प्राथमिकताका ठेक्कामुखी आयोजनाहरु अगाडि बढाइएको थियो । समस्याको पहाड थियो । कोभिडका बेला मौद्रिक नीति सरल बनाइयो, ऋण उपयोग गर्ने ठाउँ नै थिएन ।’
उनले आफूले इमान्दार भएर देश र जनताका लागि काम गर्ने प्रतिबद्धताका अर्थतन्त्र सुधारका लागि काम गरिरहेको दाबी गरे ।