काठमाडौं । चालु आर्थिक वर्ष (आव) को ५ महिनामा नेपालमा ९ अर्ब ९७ करोड रुपैयाँ बराबरको एक हजार २ सय एक किलो सुन आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि मंसिरसम्मको आयात तथ्याङ्कअनुसार यस वर्षको सुनको वैधानिक आयात गत वर्षको यसै अवधिको तुलनामा घटेको छ ।
गत वर्ष मंसिरसम्म नेपालले १० अर्ब ७५ करोडको एक हजार ४ सय ६६ किलो सुन आयात गरेको थियो । तथ्यांकअनुसार सुनको आयात परिमाणमा २६५ किलो र आयात रकम करिब ७८ करोडले कम हो । विभागकाअनुसार चालु आर्थिक वर्षको मंसिरसम्म नेपालले एक हजार २ सय एक किलो सुन आयात गरेको छ । कात्तिकसम्म नेपालमा एक हजार किलो सुन आयात भएको थियो । सुनको धेरै खपत हुने मंसिर महिनामा मात्रै सुन आयात परिमाण २ सय एक किलोले बढेको भन्सारले जनाएको छ । जसको लागत एक अर्ब ७६ करोड २९ लाख रुपैयाँ बराबर हुन्छ ।