काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विश्वविद्यालयहरुमा बेथिति बढाउने गरी सरकारले विश्वविद्यालयको संख्या नथप्ने बताएका छन्।
शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्दै मन्त्री राईले सरकार विश्वविद्यालयहरुको संख्या बढाउनेभन्दा पनि शिक्षामा गुणस्तर वृद्धि गरी विश्वविद्यालयहरु राज्यको नियम तथा पद्धतिमा चल्नुपर्नेमा स्पष्ट रहेको बताएका हुन्।
उनले नेपालको जनसंख्याको १५ प्रतिशत मात्रै उच्च शिक्षाको पहुँचमा रहेको तथ्याङ्कहरु आएको भन्दै सरकारले सन् २०३० वा २०३५ सम्ममा २५ देखि ४० प्रतिशत जनसंख्याको पहुँचमा उच्च शिक्षा पुर्याउने लक्ष्य राखिएको बताए।
उनले विश्वविद्यालयहरुमा गुणस्तर भएन भनेर दोष लगाएर मात्रै नहुने भन्दै बेथिति हटाउनको लागि पनि सहयोगी बन्न आवश्यक रहेको बताए।
उनले विश्वविद्यालय मातहतका क्याम्पसहरुको परीक्षाको सम्बन्धमा विश्वविद्यालय अनुदान आयोगले सबै विश्वविद्यालयका पदाधिकारीहरुलाई राखेर क्यालेण्डरवेस भएर परीक्षा लिने र परीक्षाफल प्रकाशन गर्ने प्रतिबद्धता गराएको बताए। उनले विश्व विद्यालयहरुले त्यो क्यालेण्डरलाई फलो गर्न सकेन भने शिक्षा मन्त्रालयले स्पष्टीकरण सोध्ने बताए।
उनले नयाँ विश्वविद्यालय सम्बन्धमा आएका विधेयकहरुमा विश्वविद्यालयहरुको प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सह–कुलपति हुने मोडालिटिबाट बाहिर रहेको उल्लेख गरे।