सुनसरी । प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यकालको एक वर्ष पुगे लगत्तै ‘बोल्ड डिसिजन’ लिने जनाएका छन् ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिमा निर्माण सम्पन्न चार सय के.भी. इनरुवा जिआईस सवस्टेसन उद्घाटनको क्रममा शुक्रवार प्रधानमन्त्री दाहालले आफू नयाँ धक्काको नजिक पुगेको जनाएका हुन् ।
उनले प्रधानमन्त्री बनेको एक वर्ष पूरा भइसकेपछि नयाँ ढंगबाट क्रमभंग गर्ने कोशिस गरिरहेको जनाए । अबको निर्णय जनताको साथमा हुने जनाए । जनतालाई निराश पार्ने भाष्य समाजमा सिर्जना भएकोप्रति चिन्ता व्यक्त गर्दै नकारात्मक भाष्यबाट टाढा बस्न आग्रह गरे। उनले देशलाई असफल राष्ट्र बनाउने षड्यन्त्रबाट सावधान रहन अपिल समेत गर्नुभयो । सारा नेपालीको निराश चाँडै नै आशामा परिणत हुने दाबी गरे ।
उनले भने, ‘मेरो अब एक वर्ष पुरा हुँदैछ । प्रधानमंत्री भएर तेस्रो कार्यकाल सुरु गरेको । एक वर्ष पुरा भएपछि मैले नयाँ ढङ्गले केहि धक्का दिएर क्रमभङ्ग गर्दैछु अर्को । त्यतिबेला आमनेपाली जनताको साथ रहने विश्वास समेत व्यक्त गर्न चाहन्छु । मानिसहरुमा अहिले एउटा भाष्य बडो नराकात्मक । जनतालाई निराश पार्ने । नेपाल अध्यारोमा छ । कहिंकतै उज्यालो छैन । नेपाल बस्न लायक छैन भन्ने गलत प्रचारको भाष्य बनेको छ । म यो मंचबाट आम नेपाली जनतालाई यो नकारात्मक भाष्यबाट निराष बनाउने र देशलाई असफल राष्ट्र बनाउने षड्यन्त्रबाट सावधान रहन अपिल गर्न चाहन्छु । नेपाल उज्यालो छ । नेपालमा धेरै सम्भावना छ । धेरै चिज गर्न सकिन्छ । यो विश्वास जनतामा जगाउन सरकार लागिपरेको छ । एकताको बलमा सरकार अघि बढेको छ । छिट्टै सारा निराशा अन्त्य हुनेछ । ’
नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा बनेको चार सय के.भी. इनरुवा जिआईस सवस्टेसन नेपालकै दोस्रो ठूलो सवस्टेसन हो ।
नेपाल विद्युत प्राधिकरण, हेटौंडा–ढल्केबर–इनरुवा ४०० के.भी. सवस्टेसन बिस्तार आयोजना अन्र्तगत निर्माण सम्पन्न सवस्टेसन पूर्वक्षेत्रमा गुणस्तरीय विद्युत आपूर्ति गर्न मात्र नभई भारतसहितका मुलुकमा विद्युत सप्लाई गर्न समेत कोशेढुङ्गा सावित हुने विश्वास लिइएको छ ।