काठमाडौं । काठमाडौंको दक्षिण–पश्चिम क्षेत्रमा आज सातगाउँले जात्रा मनाइँदैछ । कीर्तिपुर र चन्द्रागिरि नगरपालिका विभिन्न ठाउँमा सात गाउँले जात्रा अन्तर्गत विष्णुदेवी, बालकुमारी, भैरव, गणेश, इन्द्रायणीलगायतको खटजात्रा हुने चलन छ ।
विष्णुदेवी पीठ केन्द्रित गरेर मनाइने सातगाउँले जात्रा कीर्तिपुर, मच्छेगाउँ, बोसीगाउँ, ल्होखा, सतुङ्गल, पाँगा र नगाउँमा अस्तिदेखि नै शुरु भएको हो । जात्रा मुख्य गरी अष्टमी, नवमी र दशमी गरी तीन दिन मनाइन्छ । सातगाउँले जात्रालाई नेपाल भाषामा बखुमदः न्हय्गाँ जात्रा भनिन्छ ।
परम्पराअनुसार सातगाउँका शक्तिपीठमध्ये विष्णुदेवीलाई आमा र मच्छेगाउँ, बोसीगाउँ, सतुङ्गलका शक्तिपीठ र भैरवलाई उनका सन्तान मानिन्छ । आमालाई भेट्न हरेक वर्ष यहीबेला सन्तानहरु आउने विश्वासअनुसार सबै गाउँको रथ विष्णुदेवी पीठमा ल्याउने गरिन्छ ।