काठमाडौँ / रुसी सेनामा कार्यरत थप एक जना नेपालीको मृत्यु भएको छ।
रुस–युक्रेन युद्धका क्रममा रुसी सेनामा कार्यरत नेपाली नागरिक कुन्दन सिंह नागलको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो। हालसम्म रुसी सेनामा कार्यरत ६ नेपालीको मृत्यु भएको छ।
मन्त्रालयले विज्ञप्तिमा नेपालका लागि रुसका राजदूतमार्फत रुसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकहरुको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइतेलगायतका पीडित परिवारहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरेको उल्लेख गरेको छ।
साथै, नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरिएका नेपाली नागरिकलाई तत्काल नेपाल फर्काउन राजदूतमार्फत रुसी सरकारलाई अनुरोध गरिएको मन्त्रालयले जनाएको छ।
रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरुको संख्या, घाइते नेपालीको संख्या तथा उनीहरुको अवस्थाका बारेमा जानकारी गराउन पनि मन्त्रालयले रुसी सरकारलाई आग्रह गरेको छ।
यस्तै, युक्रेनले बन्दी बनाएका चार जना नेपाली नागरिकको रिहाइका लागि युक्रेनी सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध गरिएको मन्त्रालयले जनाएको छ।


