काठमाडौं । गुणस्तरहिन सौन्दर्यका लागि प्रयोग हुने कस्मेटिक सामग्री रोक लगाउन सांसदहरुले माग गरेका छन् । बुधवार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै अधिकांश सांसदहरुले यस्तो माग गरेका हुन्।
उनीहरुले गुणस्तरहिन सामानको प्रयोगले महिलाहरुमा छाला बिग्रने जस्ता समस्या आउने खतरा रहेको भन्दै बजार अनुगमन प्रभावकारी बनाउन माग गरे।
सांसदहरुले बाहिरबाट कच्चा पदार्थ ल्याएर अन्तर्राष्ट्रिय ब्राण्डको नाममा बजारमा कस्मेटिक पसल तथा पार्लरहरुले प्रयोगमा ल्याउने गरेको बताए।
उनीहरुले सरकारले विदेशबाट नेपालमा खरिद बिक्रीको लागि अनुमति नै नभएका ब्राण्ड समेत बजारमा ल्याइ बेच्ने गरेको बताए। सांसदहरुले सरकारले खाद्य तथा सौन्दर्यको लागि प्रयोगमा ल्याउने सामानहरुको ल्याब टेस्टमार्फत गुणस्तर परीक्षण गरेरनगरेको अनुगमन गर्न आवश्यक रहेको बताए।
समिति बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले महिलाहरुले प्रयोग गर्ने कस्मेटिक सामान बनाउने कच्चा पदार्थ आयात गरेर अन्तर्राष्ट्रिय ब्राण्डको नाममा प्याकेजिङ गरी बजारमा बेच्ने गरेको बताए।
उनले कस्मेटिक उद्योगहरुले गुणस्तरहीन कस्मेटिक सामान ल्याएर अन्तर्राष्ट्रिय ब्राण्डको भनि ग्राहकहरुलाई झुक्याउने गरेको बताए। गुणस्तरहिन कस्मेटिक सामान प्रयोगले महिलाहरुमा छाला लगायतका ठूलो समस्या आउने खतरा रहेको बताए। उनले कस्मेटिक वस्तुहरुको गुणस्तरमा सरकारले ध्यान दिन नसके महिलाहरुको स्वास्थ्यमा विकाराल अवस्था आउनसक्ने बताए।
उनले भने,‘नेपालमा प्रयोग हुने खानेतेलमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार नभएर २२ प्रतिशत भन्दा बढी अखाद्य पदार्थ मिसावट भएको विभिन्न अध्ययनले देखाएको छ। प्रमाणहरु हामीसँग छ। त्यो आज पनि छ। महिलाहरुले प्रयोग गर्ने कस्मेटिक सामान बनाउने कच्चा पदार्थ पाल्टीमा आयात हुन्छ। कस्मेटिक उद्योगहरुले गोप्य कोठाबाट अन्तर्राष्ट्रिय ब्राण्डिङमा बजारमा ल्याएर अन्तर्राष्ट्रिय ब्राण्डको भनेर प्रयोग गर्नुहुन्छ। महिलाहरुमा छाला लगायतका ठूलो समस्या आउने छ । यसमा सरकारले ध्यान दिन सकेनौं भने महिलाहरुको स्वास्थ्यमा विकाराल अवस्था आउन सक्छ । नेपालमा अनुमति नभएका अन्तर्राष्ट्रिय कस्मेटिक सामानहरु रहेका छन्। पछिल्लो समय भारतबाट मिति सकिएका औषधिहरु नेपालमा आयात भइरहेकाले अनुगमनलाई प्रभावकारी बनाउनुपर्छ।’
त्यस्तै,नेकपा एमालेकी सांसद अमृतादेवी अग्रहरीले गुणस्तरहिन कस्मेटिक तथा औषधिजन्य सामानको प्रयोगबाट आएको समस्या आफैँले भोगेको बताइन्।
उनले काठमाडौंका विभिन्न फेसियल सेन्टरमा अनुमति नभएका औषधि प्रयोग गरेर अनुहार राम्रो हुने भन्दै दैनिक २ लाखसम्म आम्दानी गर्ने गरेको बताइन्।
उनले सरकारले त्यस्तो ठाउँमा अनुगमन गरी रोक्न आवश्यक रहेको उनको भनाइ छ।
काँग्रेसकी सांसद सीता मिजारले गुणस्तरहिन कस्मेटिक र औषधिको सिकार महिला मात्रै नभएर धेरै पुरुषहरु समेत भइरहेको बताइन्। उनले फेसियल गर्ने भनेर सांसदहरुलाई समेत बोलाउने गरेको बताइन्। सरकारले कुन मापदण्डमा यस्तो काम गर्न दिएको छ त्यो विषयमा पनि अनुगमन गर्न आवश्यकता औल्याइन्।
बैठकमा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक तिर्थराज चिलुवालले कस्मेटिक समानहरुको गुणस्तर मापन गर्ने ल्याप नभएको बताए। उनले गुणस्तर मापन गर्ने ल्याब नभएकाले गुणस्तर नभएका कस्मेटिक पदार्थहरु प्रयोग गर्दा महिलाहरुमा छालाजन्य रोगहरु बढ्नसक्ने बताए।