काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालले अनुमोदन गरेका मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, महासन्धिका प्रतिबद्धता पूरा गर्न सरकार निरन्तर रुपमा क्रियाशील रहेको जनाएका छन् ।
७५औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आज शुभकामना दिँदै उनले जातीय, क्षेत्रीय, लैङ्गिक तथा परम्परागत विभेद्का कारणलाई सम्बोधन गर्न संविधानमा मौलिक हकको व्यवस्था भए बमोजिम कानुन बनाइ मानवअधिकारको प्रत्याभूति दिलाउन सरकार प्रयत्नशील रहेको जनाए।
प्रधानमन्त्री दाहालले प्रत्येक व्यक्तिको जीवन, मर्यादा, समानता, स्वतन्त्रताका साथै मानवअधिकारको सम्मान, संरक्षण र सम्वर्द्धन गरी मानवअधिकार संस्कृतिको विकास गर्न सरकार प्रतिबद्ध रहेको जनाए ।
प्रधानमन्त्री दाहालले मानवअधिकार संरक्षणका लागि अहोरात्र खटिने सरकारी तथा गैरसरकारी संयन्त्र, मानवअधिकारको खबरदारी गर्ने मानवअधिकार रक्षक, नागरिक समाज, पत्रकार, कूटनीतिक नियोगलगायत सबैमा शुभकामना व्यक्त गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९४८ को डिसेम्बर १० अर्थात् आजकै दिन मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको दिनलाई विश्व समुदायले मानव अधिकारको अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउँदै आइएको छ ।


