रौतहट । रौतहटको कटहरिया बजारमा रहेका तीन वटा पसलबाट सामान चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कटहरिया नगरपालिका वडा नं। ५ बस्ने रामेश्वर राय यादव रहेको प्रहरीले जनाएको छ ।
पसलबाट सामन चोरी गरेर भाग्दै गरेको अवस्थामा यादवलाई ईलाका प्रहरी कार्यालय कटहरियाको गस्ति टोलीले शुक्रबार बिहान पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख प्रहरी नायब निरिक्षक राम छवेला यादवका अनुसार उनलाई चोरीको घटना भएको पसल नजिकबाट दुई बजेको समयमा पक्राउ गरिएको हो ।
कटहरिया बजारको हनुमान मन्दिर नजिकमा रहेको शिवशङ्कर साह तेलीको गल्ला पसल, दिनेश प्रसाद जयसवाल र अवध प्रसाद जैसवालको पसलबाट नगदसहितका सामानहरु चोरी भएको हो ।
गल्ला पसलको मूल गेटमा लगाईएको तीन वटा ताला फोडेर काठको बक्साबाट करिव एक लाख रुपैयाँ चोरी भएको गल्ल पसलका शिवशङ्कर साहले बताए ।
कटहरिया नगरपालिका भवन नजिकको मूल सडकमा रहेको दुई वटा काठको घुम्ति फोडेर चोरले पान तथा कस्मेटिक पसलबाट नगद र विभिन्न सामान चोरी लागेको प्रहरीले बताएको छ ।
एक जनाको नगद १५ हजार तथा अर्का एक जनाको नगद ३५ हजार रुपैयाँ तथा विभिन्न सामान चोरी लागेको उनीहरुले प्रहरी समक्ष बताएका छन् ।
चोरी भएको घटना थाहा पाउने बितिकै खटिएको प्रहरी टोलीले भाग्दै गरेको अवस्थामा चोरलाई पक्राउ गरेको जानकारी दिएको छ ।
पक्राउ परेको चोरको साथबाट करिब १५ हजार रुपैयाँ नगद तथा केही थान सामनहरु बरामद भएको ईलाकाप्रहरी कार्यालय कटहरियाले जनाएको छ ।
पक्राउ परेका यादवलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय गरुडामा राखिएको छ । यसअघि पनि चोरीको घटनामा यादव कारागारदेखि सुधार केन्द्रमा समेत बसिसकेका व्यक्ति हुन् ।
उता परोहा नगरपालिका ३ मा हतियारधारी समूहले लुटपाट गर्ने क्रममा एक राउण्ड हवाई फायर गरेको छ । स्थानिय इस्लाम अन्सारीको घरमा लुटेरा समूहले घर बाहिर आएर एक राउन्ड हवाई फायर गरेको स्थानियले दावी गरेका छन् । चोरी तथा लुटपाटका घटनाका बारेमा अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।