नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलका स्वयंसेवकहरुले भूकम्प प्रभावित क्षेत्रमा ८१३ वटा नयाँ अस्थायी आवास बनाउँदा समेत सरकारले चासो नदेखाएको बताएका छन्।
झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा मंगलवार रुकुम पश्चिम र जाजरकोटको सीमाना रिम्ना पुग्नुभएका ओलीले यस्तो बताएका हुन्। उनले ८१३ वटा नयाँ अस्थायी आवास बनाएर पीडितलाई हस्तान्तरण गर्दा सरकार के हेरेर बसेको छ ? भन्दै प्रश्न गरे। उनले आफूहरुले यो संख्यालाई २ हजार पुर्याउने ढंगले अघि बढिरहेको बताए।
उनले भने, ‘यति भोलिन्टियर आएर ८१३ वटा नयाँ अस्थायी आवास बनाएर पीडितलाई हस्तान्तरण गर्दा सरकार के हेरेर बसेको छ । यो संख्यालाई हामीले २ हजार पुर्याउने भनेका छौँ । २ हजार आवास हाम्रा भोलिन्टियरहरुले बनाउँछ, अनि सरकार के हेर्छ , सकिँदो रहेछ नि, सरकारले बनाउनु पर्दैन । सरकारसँग पैसा छ, हामीसँग पैसा छैन । बिना पैसा हामीले ८ सय १३ घर निर्माण गरेका छौँ ।’
देशमा समस्या परेको ठाउँमा नेकपा एमाले स्वयंसेवकको रुपमा पुग्ने पनि उनले बताए।