काठमाडौं । सन् २४ को कोपा अमेरिका अमेरिकाका विभिन्न १४ शहरमा आयोजना हुने भएको छ। दक्षिण अमेरिकी फुटबल महासंघले प्रतियोगिताका लागि १४ शहर सार्वजनिक गरेको हो। फाइनल खेल फ्लोरिडाको मायामी गार्डेनसस्थित हार्ड रक स्टेडियममा हुनेछ।
पहिलो सेमिफाइनल न्यू जर्सीको मेटलाइफ स्टेडियममा सञ्चालन गरिनेछ। अर्को सेमिफाइनल नर्थ क्यारोलिनामा रहेको बैङ अफ अमेरिका स्टेडियममा हुनेछ।
क्वाटरफाइनलका खेलहरु आर्लिङटन, हस्टन, लास भेगस र ग्लिनडेलमा गरिने महासंघले जनाएको छ। आगामी जुन २० देखि जुलाइ २४ सम्म हुने प्रतियोगितामा १६ टिमको सहभागिता रहनेछ। यो पटक दक्षिण अमेरिकाभन्दा बाहिरका ६ टिमले सहभागिता जनाउने छन्।
६ टिम उत्तर अमेरिका र क्यारेबियन हुनेछन्। प्रतियोगिताको उद्घाटन खेल जर्जियाको मर्सिडिज बेन्ज स्टेडियम, एटालान्टामा हुने छ। खेलको तालिका आगामी बिहीबार सार्वजनिक हुनेछ।
अर्जेन्टिना साविक विजेता हो। सन् २०२१ मा घरेलु टोली ब्राजिललाई पराजित गर्दै लियोनल मेसीको टोलीले २८ वर्षपछि पहिलो पटक मुख्य प्रतियोगिताको उपाधि जितेको थियो।