काठमाडौं । निर्माण व्यवसायी विकास परिषद्ले भूकम्प प्रभावितलाई ३० लाख रकम सहयोग गर्ने निर्णय गरेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको अध्यक्षतामा बसेको बैठकले राहत, पुनर्निर्माण र शैक्षिक सामग्रीका लागि ३० लाख रकम सहयोग गर्ने निर्णय गरेको मन्त्रालयका सहसचिव रघुराम बिष्टले बताएका छन्।
‘राहत र पुनर्निर्माणका लागि २५ लाख र विद्यालयमा शैक्षिक सामग्रीका लागि ५ लाख दिने निर्णय भएको छ,’ सहसचिव बिष्टले भने, ‘निर्णय भएको रकम प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा हुनेछ।
भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुम र सल्यान पुगेर फर्केलगत्तै मन्त्री ज्वालाले परिषद्को बैठक बोलाएका हुन्। चिसो मौसमका कारण भूकम्प प्रभावित क्षेत्रको जनजीवन कष्टकर बन्दै गएपछि मन्त्री ज्वालाले राहत र पुनर्स्थापनामा जोड दिएका छन्।
मन्त्री ज्वालाले डेढ महिनाको पारिश्रमिक दिने यसअघि नै घोषणा गरिसकेका छन् भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव र सहसचिवले तीन दिन, उपसचिव र अधिकृतले दुई दिनको तलव लिने निर्णय भइसकेको छ।