पोखरा / पोखरामा आयोजित आईटीएफ जे–३० टेनिस प्रतियोगिताको पुरुष सिंगलतर्फ रुसका एलेक्सि सिभायव विजेता भएका छन्। पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा भारतका प्रनिल शर्मालाई ६–१ र ७–५ को सेटमा पराजित गर्दै उनले एकलतर्फको उपाधि जितेका हुन्।
महिला एकलतर्फ जापानकी उता आसाकुरा विजेता भइन्। उनले भारतकी यासिका सोकिनलाई फाइनल खेलमा १–६, ६–४ र सुपरटाइमा ६–० ले पराजित गर्दै उपाधि विजेता बनिन्।
पुरुष डबल्सतर्फ जापानका को फुजिकावा र रोया सासामोतोको जोडीले भारतका प्रविर मुकेस छाप्दा र अमृत मोण्डको जोडीलाई १–६, ६–४ र सुपरटाईमा १०–५ ले पराजित गर्दै विजेता बने।
महिला डबल्सतर्फ भारतका दिशा बेहरा र अर्जान खोराकिवालाको जोडीले भारतकै एन्जल पटेल र यासिका सोकिनको जोडीलाई ६–२, ६–१ को सटेमा पराजित गर्दै विजयी भए।
कास्की जिल्ला टेनिस संघले आयोजना गरेको प्रतियोगिताको दोश्रो सर्किट आगामी सोमबारदेखि सुरु हुनेछ।